अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेको छ । बहाव बढेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खुला गरिएको छ ।
त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाका अनुसार रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गरी ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको हो ।
बिहान ७ बजे ब्यारेजमा पानीको सतह २ लाख ४० हजार क्युसेक पुगेको उनले बताए । गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमलाई मध्यनजर गरी समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनका अनुसार गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकताअनुसार ढोका खोलिनेछ । पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षितरूपमा रहन पनि प्रशासनले अनुरोध गरेको छ ।
गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।