आगामी निर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब ७ सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । 

विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ । समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ । त्यसरी तालमेल भए केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने नेता सुन्दर पाण्डेले जानकारी दिए । 

राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ । दुवै पार्टीका अध्यक्षबीच शुक्रबार भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ ।

जिल्ला निर्वाचन कार्यालयमा यही २३ असोजमा जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ ।
 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १५:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया