काठमाडौंमा दसैंमा मापसे गरेर सवारी चलाउने तीनसहित सात जनाको दुर्घटनाबाट मृत्यु

काठमाडौं उपत्यकामा बडादसैंको फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार पैदल यात्रु र तीन जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने रहेका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री बडादसैं पर्वका अवसरमा काठमाडौं उपत्यकाको सवारीसाधन व्यवस्थापनमा दिनरात  नभनी ट्राफिक प्रहरी सडकमा खटेकाले तुलनात्मक रूपमा यस वर्ष धनजनको क्षति कम भएको बताउँछन् । काठमाडौं उपत्यकामा आज सार्वजनिक सवारीसाधन सामान्य अवस्थामा गुडिरहेका छन् भने बालबालिकाका साथ टीका जमरासहित आ–आफ्नो निवास तथा आफन्तजनकहाँ पुग्न  दौडधुप गरिरहेका देखिन्छन् ।

प्रयोगकर्ता बढेका कारण खासगरी ट्याक्सीतर्फ सर्वसाधारणको ध्यान बढी गएको देखिन्छ ।  सडक बजारका प्रमुख चोकमा सार्वजनिक सवारीसाधन कुर्ने, ओर्लने र चढ्ने यात्रुको सङ्ख्या उल्लेखनीय छ । आज बिहान काठमाडौं उपत्यकाको मौसममा सुधार भए पनि दिउँसोदेखि बादल लाग्नुका साथै सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले आज पनि वर्षा हुने जनाएको छ । विजया दशमीको दिन रातिदेखि बिहीबार दिनभर काठमाडौँ उपत्यकामा झरी परेको थियो । आज दिउँसोसम्म मौसम सफा रहेकाले चहलपहल ह्वात्तै बढेको थियो ।  

यहाँबाट बाहिरिनेको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारीसाधन र यात्रुको सङ्ख्या बढ्न थालेको कलङ्की चोकमा खटिएका ट्राफिक प्रहरी हबल्दार मेखराज खत्रीले जानकारी दिए । वर्षासँगै पहिराका कारण त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायण घाट सडक खण्ड बन्द हुने र खुल्ने/खुलाउने क्रम जारी रहेको बाँडभन्ज्याङ प्रहरी कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार १६:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया