नुवाकोटमा बोलेरो दुर्घटना : १४ जना घाइते, तीनको अवस्था गम्भीर

नुवाकोटको विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते हुने दशैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् ।

बेलकोटगढी–१२ मदानपुरबाट दशैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दिपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय पर्वत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ। बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उनकी श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, पर्वत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय वसन्त सिलवाल बेलकोटगढी–१२ उनकी छोरी १६ महिनाकी ऋतु सिलवाल रहेका छन्।

यस्तै दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उनको छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मीला पण्डित र बोलेरो चालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन्।

प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।



सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दशैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए।



  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार २१:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया