राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले आइतबार प्रतिनिधि सभा निर्वाचनमा भाग लिन मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराए । नेकपा एमालेसँगको तालमेलमा निर्वाचनमा होमिन लागेका थापालाई ‘पहिलो गाँसमै ढुङ्गा’ परेको छ ।
उम्मेदवारी दर्ताको लागि तयारी भइरहेको बेला एमाले पार्टी कार्यालयमा तालाबन्दी सहित थापाको समर्थन फिर्ता लिन एमालेका कार्यकर्ताहरूले दबाब दिइरहे । पार्टी नेतृत्व तहका नेताहरूको चलखेलका कारण टिकट खोसिएको आरोप लगाउँदै एमालेका आक्रोशित कार्यकर्ताहरूले आइतबार दिनभर नै विरोधमा उत्रिएका थिए ।
कार्यालयको मुख्य दैलोमा ताला लगाएर आक्रोश पोखिरहेका पनि जिल्लाका शीर्ष तहका नेताहरूले मनोनयन दर्ताको तारतम्य मिलाउँदै व्यस्त बने । उनीहरू आफ्नै तयारीमा जुटिरहेका थिए ।
एमाले पार्टी कार्यालयमा तनाव उत्पन्न भइरहेकै बेला एमालेसँगै गठबन्धन गर्न लागेका कमल थापाले भने सुटुक्क निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए । मनोनयन दर्ता सुरु भएको केही समय अर्थात् पाँचौँ नम्बरमा थापाले प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर १ तर्फलाई उम्मेदवारी दर्ता गराएका हुन् ।
पत्याउलान् एमालेका मतदाताले ?
थापा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिन लागेको थाहा पाउने बित्तिकै आक्रोशित बनेका कार्यकर्ता तथा मतदाताहरूले कत्तिको साथ देलान् ? थापालाई मतदाताले पत्याउलान् ? यसले चुनावी माहोलमा कस्तो असर पर्ला लगायतका प्रश्नहरू उब्जाएको छ ।
रामेश्वर राना राना बाहेक जसलाई टिकट दिए पनि मतदान प्रक्रियामा आफूहरू सहभागी नहुने आक्रोशित पक्षको तर्क छ भने, शीर्ष व्यक्तिको निर्णयलाई आत्मासाथ गरेर अघि बढ्नै पर्ने अन्य नेता कार्यकर्ताहरू बताउँछन् ।
तर समर्थनको आशा बोकेका थापा विरुद्ध कार्यकर्ताहरूले गरेको आक्रोशित व्यवहारको कारण पनि थापालाई निर्धक्क भएर एमालेका मतदाताहरूले मत देलान् भन्न नसकिने कतिपयले भन्न थालेका छन् ।
थापा भन्छन् - जित्नकै लागि सूर्य रोजेको हुँ
एमाले कार्यकर्ता तथा मतदाताको चर्को विरोधका बीचमा सुटुक्क मनोनयन दर्ता गर्न पुगेका थापा एमालेका साथीहरूको मतले आफू विजयी हुनेमा ढुक्क रहेको बताउँछन् । जिल्लामै ठुलो दलको रूपमा रहेको नेकपा एमालेसँगको तालमेलमा निर्वाचनमा होमिन पाउनु खुसीको कुरा रहेको बताए ।
‘मैले आफ्नो जित सुनिश्चित गर्नकै निमित्त मैले एमालेकै चुनाव चिन्ह सूर्य चिन्हबाट प्रतिस्पर्धा गर्दै छु । मेरो कारणले गर्दा एमालेकै योग्य उम्मेदवारहरू अवसरबाट वञ्चित हुनुभएको छ,’ थापाले भने, ‘त्यसले स्वाभाविक रूपमा केही असन्तुष्टिहरू हुन सक्दछन् । तर त्यो असन्तुष्टिलाई भुलेर एमालेका जिम्मेवार नेताहरूले साथ दिनुहुनेछ । मतदाताहरूले सूर्यमा मत दिएर जिताउनुहुनेछ भन्नेमा म ढुक्क छु ।’
कमल थापा के विगतका हारले तर्सिरहेका छन् ?
पटक पटक निर्वाचनमा हार खाएका थापा यो पटक एमालेको सहारामा विजयी हुने दाउमा छन् । ६ पटकसम्म पराजित भएका थापाले एक पटक मात्र जितेका छन् । २०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए ।
२०५२ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भए । २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडे, तर दुवैमा पराजित भए ।
२०७० मा समानुपातिक पद्धतिमा बसेर संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर फेरि पराजित भए । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।