के बाबुराम भट्टराईले आफ्नो पार्टी माओवादीमा विलय गराउँदै छन् ?

सशस्त्र द्वन्द्वको समयका सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अहिले फरक फरक पार्टीमा छन् । तर, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका नेताहरुले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसअघि बाबुराम भट्टराई विजयी भएको गोरखाको निर्वाचन क्षेत्र २ मा त प्रचण्ड नै पुगिसकेका छन्, प्रतिनिधिसभा उम्मेदवारका रुपमा । उनलाई त्यहाँ भट्टराईले स्वागत मात्र गरेका छैनन्, यो गौरवको कुरा भएको समेत स्वीकार गरेका छन् ।

नेपालको नयाँ संविधान जारी भएपछि काठमाडौं बानेश्वरको एउटा होटलमा पत्रकार सम्मेलन गरेर तत्कालीन नेकपा माओवादीबाट आफू अलग भएको घोषणा गरेका बाबुराम भट्टराईले त्यसपछि नयाँ शक्ति पार्टीको नेतृत्व गरे । आफैं खोलेको पार्टी नयाँ शक्तिलाई उनले कुनै उचाइमा पुर्याउन सकेनन् ।

त्यसपछि उनी मधेशमा केन्द्रित राजनीतिक दल समाजवादी पार्टीमा समाहित भए । त्यो पनि विग्रह बनेपछि बनेको जनता समाजवादी पार्टीमा पनि उनको र उपेन्द्र यादवको र्याङठ्याङ त्यति मिलेन । 

अन्ततः उनले फेरि आफ्नै नेतृत्वमा नयाँ दल नेपाल समाजवादी पार्टी गठन गरेका छन् । 

तर, आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा उनको पार्टीको अलग पहिचान नहुने भएको छ । उनको पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा होमिएका छन् ।



र, फेरि उनी नेकपा माओवादी केन्द्रसँग मिल्न सक्ने सम्भावना बढेको छ । यो सम्भावनाको स्पष्टोक्ति दिएका छन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ।

गोरखा २ मा उम्मेदवारी मनोनयन गरेपछि आयोजित एक कोणसभामा सम्बोधन गर्दैै प्रचण्डले बाबुराम भट्टराईसँग आफूहरु एकताबद्ध हुने प्रक्रियामा रहेको बताएका छन् । 



‘म विशेष खुसी किन छु भने आज गोरखाबाट नै एकता प्रक्रियाको घोषणा गर्ने मौका मिलेको छ,’ प्रचण्डले कार्यक्रममा भनेका थिए, ‘हामी फेरि एकताबद्ध हुने प्रक्रियामा अगाडि बढेका छौँ, त्यसका लागि म कमरेड बाबुराम भट्टराई र सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु । यो धेरै खुसीको कुरा हो ।’

उनको यो अभिव्यक्तिमा बाबुराम भट्टराईले सहमति जनाएका थिए ।

यसको अर्थ हो, बाबुराम भट्टराईको पार्टी अब केही समयपछि नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनसक्ने सम्भावना बढेको छ ।

  • प्रकाशित मिति : असोज २४, २०७९ साेमबार १३:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया