अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एकजनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनका आमा घाइते भएकी हुन् । घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोमा परी गिरीको मृत्यु भएको र उनकी आमा घाइते भएको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले घाइतेको उद्धार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए।
प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढेसँगै सोही गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीले कटान गर्दा जोखिममा परेको छ।
निरन्तर बाढीले प्रहरी चौकी उच्च जोखिममा परेपछि चौकीको टोलीलाई सोही स्थानमा निर्माणाधीन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।