सुर्खेतलाई राजनैतिक पहुँचको एजेण्डा
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारका कार्यक्रम होस् या संघीय सरकारका कार्यक्रमहरू, सुर्खेतलाई भौगोलिक रूपमै उपेक्षित गरिएको यहाँका राजनैतिक दलहरूको भनाई थियो । यसका साथै कर्णाली प्रदेश सरकारमा समेत कर्णालीका उपल्लो जिल्लाको पहुँच बढेको जनाउँदै यहाँका राजनीतिज्ञहरूले सुर्खेतलाई राजनीतिमा भेगिए उपेक्षा गरिएको जनाउँदै आएका थिए ।

कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री समेत भइसकेका नेता विन्दमान विष्टले भने, ‘विगत पाँच वर्षको राजनैतिक वातावरणमा सुर्खेतले धेरै भूमिका निर्वाह गर्न सकेन । विकास र संवृद्धिका लागि सुर्खेती जनताको माग अनुसार जिल्लाले पर्याप्त रूपमा प्राप्त गर्न सकेन ।’

सुर्खेतबाट केन्द्रीय तहको राजनीतिमा प्रभाव राख्ने नेता नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का हुन् । उनी हाल पार्टीको उपसभापति समेत भइसकेका छन् । यसै गरी काँग्रेसबाट सुर्खेतका नेता हृदयराम थानी समेत केन्द्रीय स्तरका व्यक्ति हुन् । यस अघिको प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा यी दुवै नेता पराजित भए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रभाव राख्ने केन्द्रीय स्तरका नेता यामलाल कँडेलपनि प्रदेशसभा तर्फ नै केन्द्रित छन् । कर्णाली प्रदेशको पहिलो सरकारमा उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको गठबन्धनमा सरकारसँग भए । प्रदेशको मुख्यमन्त्री पदका लागि लबिङ गरिरहेका उनी, कर्णालीले माओवादी केन्द्रबाट मुख्यमन्त्री पाउने दलीय भागबन्डा भएपछि त्यसै रोकिए । सो पछि तत्कालीन कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव लग्नेमा नेता कँडेलले अगुवाइ गरे ।

तर, एमाले तर्फका सांसदले नै ‘फ्लोर क्रस’ गरेपछि सुर्खेतका नेता कँडेलले प्रतिपक्षको भूमिकामा रहन बाध्य भए । यी लगायतका विविध राजनैतिक घटनाक्रमले सुर्खेत सधैँ भौगोलिक राजनीति पहुँचमा पछि पारिरह्यो । प्रदेशमा होस् या केन्द्रीय स्तरमा, सुर्खेतले जिल्लाको प्रभावशाली नेतृत्वकर्ता नपाएको गुनासो यहाँका राजनीतिज्ञ तथा आम मतदाताको कायमै छ ।

यस अघि वीरेन्द्रनगरमा राष्ट्रिय मिडियाले आयोजना गरेको कार्यक्रममा समेत एमाले नेता कँडेलले सुर्खेत भौगोलिक राजनीतिको पहुँचमा पुग्न नसकेको स्वीकार गरेका थिए । उक्त कार्यक्रममा नेता कँडेलले कर्णालीका अघिल्ला मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्दा हालका मुख्यमन्त्री जीवनबहादुर शाहीको कामकाज प्रति केही मात्रामा सकारात्मक समेत जनाउन भ्याए ।



राजनैतिक पहुँच निर्माणको विकल्प

बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता विन्दमान विष्टले सुर्खेतसँग कर्णाली प्रदेशलाई समेत राजनैतिक पहुँचको अवसर आएको जनाउँदै खुसी व्यक्त गरे ।
गठबन्धनमा रहेका दलका शुभेच्छुक संस्थासँग आबद्ध पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘आसन्न निर्वाचनमा सुर्खेतका लागि अवसर छ । साथै संघीय सरकारमा समेत कर्णाली प्रदेशको पहुँच वृद्धिका लागि अवसर देखेका छौँ । यो सुर्खेती जनताका लागि जिल्लालाई पहुँचमा पुर्‍याउने ठुलो अवसर पनि हो ।’



वाम गठबन्धन दल मात्रै सुर्खेतका लागि केन्द्रीय स्तरसम्म राजनैतिक पहुँच पुर्‍याउने विकल्प रहेको उनको दाबी थियो । यसै गरी नेपाली काँग्रेसका नेता हृदयराम थानीले समेत वाम गठबन्धनले निर्वाचन पश्चात् पनि एक भएर अघि बढ्ने दाबी गरे । उनले भने, ‘निर्वाचनमा पछि पनि हामी एक–अर्कालाई आरोप लगाउने वातावरणको सृजना हुने गरी काम गर्दैनौँ ।’ गठबन्धन दल र यिनका उम्मेदवारलाई विश्वास गर्न नेता थानीको आग्रह थियो ।

गठबन्धन दलका तर्फबाट सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको उम्मेदवारी छ । यसै गरी प्रदेश सभा तर्फ १ (क)मा खड्गबहादुर पोखरेल (कांग्रेस) र १ (ख) कृष्णबहादुर जिसी (माओवादी केन्द्र)को उम्मेदवारी छ । निर्वाचन क्षेत्र नं. २ तर्फ प्रतिनिधि सभाका लागि कांग्रेस नेता हृदयराम थानीको उम्मेदवारी छ । प्रदेश सभाको २ (क) तर्फ कालीप्रसाद शाक्य (कांग्रेस) र २ (ख) तर्फ विन्दमान विष्ट (माओवादी केन्द्र)को उम्मेदवारी रहेको छ ।

गठबन्धन दलका लागि मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमालेले भने प्रतिनिधि सभाका लागि सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट ध्रुवकुमार शाही र क्षेत्र नं. २ बाट अमृतबहादुर बिसीलाई उम्मेदवार बनाएको छ । प्रदेश सभाका लागि नेकपा एमालेको तर्फबाट सुर्खेत १ (क)मा ठम्मरबहादुर विष्ट, १(ख)मा डण्डीप्रसाद शर्मा, २(क)मा यामलाल कँडेल र २(ख)मा ताराकेशर गौतमको उम्मेदवारी परेको छ । 

  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १०:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया