किरण पौडेललाई प्रश्नः प्रकाशमान सिंहको विरासत भत्काउने तपाईंको आधार के ?

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरमा सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र हो– काठमाडौं क्षेत्र नम्बर १ । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको पनि बाढी छ । 

यही क्षेत्रमा सबैभन्दा बढी चर्चामा छन्, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह, नेकपा एमालेका उम्मेदवार किरण पौडेल र राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले जित निकालेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी थिए, तत्कालीन विवेकशील साझाका रवीन्द्र मिश्र । त्यो निर्वाचनपछि मिश्रको राजनीतिक करिअर ग्राफले अनेकौं ट्विस्ट र टन्र्स पाइसकेको छ । अहिले त उनी आफैं स्थापना गरेको साझा पार्टी र त्यसपछि विवेकशीलमा गरेको एकता सबै छोडेर राप्रपामा समाहित भएका छन् । कतिपयले यो उनको चुनाव जित्ने दाउ हो भन्ने टिप्पणी गरेका छन् । जे होस्, योबीचमा विचारमा अडिग रहेनन्, मिश्र ।

त्यसैले यसपटक काठमाडौं–१ मा मिश्रको प्रतिस्पर्धालाई धेरैले कमजोर हुनसक्ने अनुमान गरेका छन् । त्यसमाथि उनलाई भारी पर्न सक्छन्, स्वतन्ब उम्मेदवारी दिएका पुकार बम । बमलाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा विवेकशीलका मतदाताले पनि समर्थन गर्न सक्ने आधारहरु पनि नदेखिएका होइनन् ।

मिश्र र स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारीलाई केही कमजोर सोचिएको यो क्षेत्रमा सबैभन्दा बलिया प्रतिस्पर्धी हुन्, नेकपा एमालेका किरण पौडेल र नेपाली कांग्रेसका प्रकाशमान सिंह । सिंहले यो क्षेत्रमा पछिल्ला निर्वाचनमा लगातार जित्दै आएका छन् । त्यसैले यसलाई प्रकाशमान सिंहको पकड क्षेत्रका रुपमा पनि लिइन्छ । तर, यसपटक उनका लागि चुनौति बनेका छन्, किरण पौडेल ।

त्यसो त नेकपा एमालेले सुरुमा टिकट दिँदा किरण पौडेलले अन्तिममा यसलाई फिर्ता लिन्छन् भन्ने अड्कलबाजी पनि नभएको होइन । नेकपा एमालेले राप्रपासँग तालमेल गरेको खण्डमा पौडेलको उम्मेदवारी फिर्ता हुनसक्छ भन्ने अनुमान भएका थिए । ‘ती अफवाह मात्र थिए,’ पौडेलले भने, ‘कतिपय हल्लाहरु कांग्रेसकै कार्यकर्ताले पनि डरले फैलाए ।’



नेकपा एमालेमा राष्ट्रिय युवा संघका अध्यक्षसमेत रहेका किरण पौडेलले यसपटक पार्टीले आफूलाई जिम्मेवारी दिएको र आफूले जित निकाल्ने आधार स्पष्ट भएको दाबी गरे । ‘यसअघि स्थानीय तह निर्वाचनको मत परिणामलाई विश्लेषण गर्ने हो भने पनि कांग्रेसभन्दा यो क्षेत्रमा एमाले नै बलियो छ,’ पौडेलले भने, ‘योबीचमा हाम्रो पार्टीमा यो क्षेत्रबाट सयौँ मानिसहरु प्रवेश पनि गर्नुभएको छ । फेरि म युवा हुँ, अहिले युवाको माग छ । त्यसैले मैले यो क्षेत्रमा जित निकाल्नेमा ढुक्क छु ।’

पौडेलले पनि यो क्षेत्रका लागि आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसकै प्रकाशमान सिंह रहेको बताएका छन् । ‘यसअघिको निर्वाचनमा रवीन्द्र मिश्रले आफ्नो योगदानका कारण त्यति धेरै मत ल्याउनु भएको होइन,’ उनले भने, ‘त्यति बेला विवेकशील नेपालीका उज्जवल थापाजीहरुले निकै मेहनेत गर्नुभएको थियो । त्यसबाट उहाँलाई फाइदा पुगेको थियो । उहाँलाई अब जनताले उहाँको चरित्र देखिसकेका छन्, मूल्यांकन गरिसकेका छन् ।’



पौडेलले अहिले आफूहरु नेकपा एमालेको मतलाई एकीकृत गरेर एकजुट बनाउने अभियानमा भएको पनि बताएका छन् । ‘हामीले फेरि ठूलो कुरा गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘हामीले जे गर्न सक्छौँ, त्यही भनिरहेका छौँ । काठमाडौं–१ का जनताका लागि हामीले जे गर्न सक्छौँ, त्यो मात्र भनिरहेका छौँ । म यहाँका मतदातालाई गर्व होस् भनेर काम गरिरहेको छु, त्यही अनुसार अगाडि बढिरहेको छु ।’

हामीले किरण पौडेललाई तपाईं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट भएकाले मात्र टिकट पाएको होइन र भनेर पनि सोधेका थियौँ ।

‘मैले आजसम्म पार्टीमा गरेका कामहरु वा पदहरुका लागि कसैसँग केही मागेको छैन,’ पौडेलले भने, ‘मैले आजसम्म मलाई चाहियो भनेको छैन । पार्टीले आफैंले मेरो भूमिका बुझेर मलाई यो अवसर दिएको हो ।’

उनी यो जवाफ दिएपछि फेरि काठमाडौं–१ का मतदाताको विषयमा फर्किए । ‘मैले यहाँको क्षेत्रका लागि धेरै ठूलो कुरा गरिरहनु पर्दैन,’ पौडेलले भने, ‘हो, मेरा प्रतिस्पर्धीहरुसँग ठूलो धन छ होला, उहाँहरु लाभको पदमा बारम्बार पुग्नु भएको होला । तर, मेरो मनमा यो क्षेत्रका मतदाता र बासिन्दाका भावना सम्बोधन गर्ने ल्याकत छ । यहाँका मानिसहरुको भावनालाई संसदमा लगेर मुखरित गराउने मेरो जिम्मेवारी हो, कर्तव्य हो भनेर मैले लिएको छु ।’

पौडेलले यसो भन्दा भन्दै पनि नेपाली राजनीतिमा प्रकाशनमान सिंह र उनको परिवारको योगदानलाइै अवमूल्यन गर्न नहुने पनि बताए । तर, योगदानका आधारमा सिंहले अहिलेसम्म त्यसबाट प्राप्त हुने सुविधा लिइसकेको र अहिले पुस्तान्तरणको समय पनि भएको बताए । ‘उहाँले राजनीतिमा मेरोभन्दा अवश्य धेरै योगदान गर्नुभएको छ, नेपाली राजनीतिक इतिहासमा त्यो महत्वपूर्ण छ,’ पौडेलले भने, ‘तर, अब पुस्तान्तरणको समय आएको छ । यसबारे सबै मतदाता सचेत हुनुहुन्छ भन्नेमा म ढुक्क छु ।’

  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १२:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया