डोटीमा प्रेम आलेलाई कति सहज, एमालेकी गौरीकुमारी कति चुनौति ?
फाइल तस्वीर ।

४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा नकेपा एकीकृत समाजवादीका नेताहरुको होडबाजीमध्ये डोटीका प्रेमबहादुर आलेको चुनावी प्रतिस्पर्धालाई पनि निकै चासोका साथ हेरिएको छ । 

नेकपा एमालेबाट दुई पटक सांसद बनिसकेका आले यसपटक ह्याट्र्कि गर्ने दाउमा छन् । तर, उनका लागि चुनौती बनेकी छिन्, उनकै पूर्वसहकर्मी गौरीकुमारी ओली ।

सत्ता गठबन्धनमा लामो समय डोटीको एक मात्र निर्वाचन क्षेत्र नेपाली कांग्रेसलाई दिनु पर्ने माग उठेको थियो । २०७४ सालमा आले वामगठबन्धनका उम्मेदवार थिए, उनीसँग प्रतिस्पर्धामा थिए नेपाली कांग्रेसका वीरबहादुर बलायर । बलायरले यसपटक लामो समयसम्म डोटीमा कांग्रेसले छोड्न नहुने अडान राखे । तर, सत्ता गठबन्धनको अस्तित्वमाथि नै आलेले प्रश्न उठाउन थालेपछि बलायर पछाडि हटे, आलेलाई गठबन्धनले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनायो ।

आलेसँग प्रतिस्पर्धामा अन्य पाँच जना उम्मेदवार छन्, डोटीमा । नेकपा एमालेकी गौरीकुमारी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायर, स्वतन्त्र राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

०७० सालको र ०७४ सालको आम निर्वाचनमा सहज जित निकालेका आलेलाई यसपटक डोटीबाट बानेश्वरको संसद भवन छिर्न कति सहज छ त ? 

यसका लागि पहिलो स्थानीय तह निर्वाचनको मत परिणामको विश्लेषण गरौँ ।



वैशाखमा भएको स्थानीय तह निर्वाचनमा डोटीका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटामा जित निकालेको थियो । नेकपा एमालेले १ र नकेपा माओवादी केन्द्रले अर्को १ स्थानमा जित निकाल्न सफल भएको थियो । यसले स्पष्ट पार्छ, डोटीमा स्थानीय तहमा नेपाली कांग्रेसको राम्रो प्रभाव छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुको मतलाई हेर्ने हो भने पनि नेपाली कांग्रेसले नै सबैभन्दा बढी मत ल्याएको छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत  ३४ हजार ४७ थियो । त्यस्तै, दोस्रोमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९ सय १६ मत ल्याएका थिए । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ हजार ७ सय ८९ मत ल्याउँदा आलेकै पार्टी नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले भने ३ हजार २ सय ५ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवारको मत भने १ हजारभन्दा कम थियो ।



यसअघिको आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको समर्थनमा आले उम्मेदवार थिए । त्यति बेला उनले ३२ हजार ५ सय १० मत ल्याएका थिए । उनका तत्कालीन प्रतिस्पर्धी बलायरले ३० हजार ८ सय ७८ मत मात्र ल्याएका थिए ।

यो अर्थमा हेर्ने हो भने आलेको पार्टीभन्दा अहिले नेकपा एमाले नै त्यहाँ बलियो देखिएको छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ पाएका आलेलाई एमाले एक्लैको यो चुनौती सहज हुने देखिन सक्छ । 

यसका लागि चाहिँ उनले त्यहाँका कांग्रेस मतदाताको मत आफूलाई आउनेमा निश्चित गर्नु पर्ने देखिन्छ ।

यो निर्वाचन क्षेत्रमा आलेलाई उम्मेदवारी दिन लगाएकामा धेरै कांग्रेसी सन्तुष्ट छैनन् । स्वयं बलायर कैलाली–४ मा उम्मेदवारका रुपमा झर्नु परेको छ । बेलाबेलामा आले पनि कांग्रेस प्रवेश गर्न सक्छन् भन्ने चर्चा नचलेको त होइन तर डोटीमा कांग्रेसको विश्वास उनले पूर्णरुपमा जित्न सकेका छैनन् ।

कांग्रेसको मत आफूलाई पार्न सके भने आले नेकपा एकीकृत समाजवादी निकै कमजोर भएको डोटीमा पनि जित निकाल्न सफल हुने देखिन्छ ।

  • प्रकाशित मिति : असोज २९, २०७९ शनिबार ९:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया