तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झिलिमिली छ ।
तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरूमा झिलिमिली बत्ती बालिएको छ ।
तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनीहरू लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् ।
धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुसी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ ।
फूलको मालाले सिँगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यति बेला काठमाडौं उपत्यकाका बजारहरू रङ्गिन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ ।
तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यति बेला हरेक बजारमा देखिन्छ ।
फोटो : न्युज एजेन्सी नेपाल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।