नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् । शनिबार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताउँदै प्रवक्ता महतले विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेसन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्नेकाम गठबन्धनबाट नै सम्भव रहेको बताए ।
देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गर्दै प्रवक्ता महतले रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए । आगामी निर्वाचन गठबन्धनले जिते मात्रै देशले लय समात्ने उनको दाबी थियो ।
ओलीको नेतृत्वमा देशको नेपालको परराष्ट्रनीति अल्मलिएको भन्दै उनले अबका दिनमा नेपालको स्वार्थ केन्द्रितमा हुने बताए । प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरे पनि गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।