सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन दुईतिहाइ बहुमत ल्याउने लक्ष्यसहित आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको बताएका छन् ।
संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धि नै सत्तारुढ गठबन्धनको चुनावी एजेण्डा हुने पनि स्पष्ट पारे । उपसभापति खड्काले मुलुकको कुनाकुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
लोकतन्त्रको रक्षाका लागि, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि र जनताको समृद्धिका लागि आफूहरुले विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर चुनावी गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । उपसभापति खड्काले जनताले मुलुकमा तीव्र आर्थिक विकास चाहेको र त्यसलाई पूरा गर्नका लागि पनि सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुन चाहेको जिकिर गरे ।
उपसभापति खड्काले सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न, संविधानलाई आवश्यक्ता अनुसार संशोधन गर्दै अगाडि बढ्न पनि कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलहरुलाई साथमा लिएर निर्वाचनमा जानुपरेको बताए । ‘हामीले सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउनु पर्छ । ठूला छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउनु छ।’ उनले भने, ‘जनतालाई समृद्ध बनाउनु छ । त्यसका लागि पनि आगामी निर्वाचनमा जनताले सत्तारुढ गठबन्धनलाई चुनावमा विजयी गराउनुपर्ने हुन्छ ।’
उपसभापति खड्काले ठूला छिमेकी मुलुक भारत र चीनसँग सकारात्मक सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन पनि सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा विजयी हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।