वर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०÷२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । 

स्थानीय सरकारहरुसँग समन्वय गरेर सडक सञ्चालनको सहज व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुले समन्वयकारी भूमिका पनि निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । गृहसचिव सिंहले अवरुद्ध भएको विद्युत र सञ्चार सेवालाई सुचारु गराउने काममा पनि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई ढिलाइ नगर्न सचेत गराए । 

केन्द्रीय निकायहरुसँग समन्वय गरेर सो कामलाई सहजीकरण गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै गृहसचिव सिंहले त्यसका लागि रिर्पोटिङ गरेर तत्काल मन्त्रालय पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देश गरे । 

त्यसैगरी गृह मन्त्रालयले ठोस मापदण्ड तय गरी निर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन पनि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहसचिव सिंहले जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरुको समन्वयनमा सो कामको व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । 

चाहिने ठाउँमा सुरक्षाकर्मीको अभाव हुने र नचाहिने ठाउँमा बढी हुने अवस्था आउन नदिन पनि जिल्ला प्रशासन कार्यालयहरु सचेत हुनुपर्ने उनले बताए । गृहसचिव सिंहले जिल्ला प्रशासन कार्यालयहरुले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित भएर आफ्ना गतिविधि अघि बढाउनुपर्ने पनि बताए । 





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १८:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया