पुकार बमलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमलाई स्पष्टीकरण सोधेको छ । 

प्रचार–प्रसारका क्रममा बम आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने’ व्यवस्था छ । 

सो विषय उल्लेख गर्दै स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन प्रचार–प्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ ?’

स्पष्टीकरणपत्रमा थप भनिएको छ, ‘तपाईंबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेस गर्नुहोला ।’





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार २०:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया