नवौं राष्ट्रिय खेलकुद प्रतियोगितअन्तर्गत फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबका दुवै टोलीले स्वर्ण हात पारेका छन् ।
पुरूषतर्फ एपिएफले पोखरा रंगशालामा बिहीबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ५–६ ले हराउँदै स्वर्ण जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । दुवै टोलीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
७९अौं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भए । एपिएफका प्रदीप लामा र आर्मीका पदम तामाङ झगडामा उत्रिएपछि रेफ्री नवीन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिएका थिए।
पेनाल्टी सुटआउटमा आर्मीका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सिमान्त थापा, विवेक बस्नेत, विकास खवासले गोल गर्दा सेसेहाङ आङदेम्बे र सुमन अर्यालको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे ।
एपिएफका नवीन लामा, आवास लामिछाने, सुदीप सिख्राकार, राजु नगरकोटीले, दीपेश धिमाल र विश्वास उदासले गोल गर्दा सनिश श्रेष्ठको प्रहार बाहिरियो ।
महिलातर्फ एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएर स्वर्ण जितेको हो ।
स्यांजाको वालिङमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गर्दा पुलिसका लागि निरु थापाले एक गोल फर्काइन् ।
यो स्पर्धामा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तथा पुरूषतर्फ घरेलु टोली गण्डकी प्रदेशले कास्य हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।