निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।
रौतहट जिल्लामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई प्रलोभनमा पार्ने गरी सम्बोधन गरेको उजुरी परेपछि अध्यक्ष नेपाललाई २४ घण्टाभित्र आफू उम्मेदवार रहेको जिल्ला निर्वाचनको अधिकृतको कार्यालयमा आफैं उपस्थिति भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता उलंघन गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धानका लागि स्पष्टीकरण सोधिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । आयोगले नेपालमाथि सोधिएको स्पष्टीकरणलाई कारबाही भन्न नमिल्ने पनि स्पष्ट पारे ।
आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि त्यसमाथि अनुसन्धान भएको र त्यो पुष्टि भए मात्रै कारबाही हुने निर्वाचन आयुक्त भण्डारीले बताए । उनले भने, ‘निर्वाचनको सन्दर्भमा दलीय प्रतिस्पर्धा र स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनुहुने सबैको समान हैसियत हुन्छ । राष्ट्रिय नेताहरुलाई हामीले सम्मान गर्दै छुट्टै कुरा हो । तर, निर्वाचनको प्रतिस्पर्धामा एउटाको धेरै सम्मान अर्कोको अपमान भन्ने हुँदैन । त्यो भएको हुनाले हामीले सबैलाई समान व्यवहार गर्छौं ।’
‘उहाँहरु आफैँ आचारसंहिता तर्जुमा गर्न सहमति दिनुहुन्छ । अनि, उहाँहरु नै उल्लंघन गर्नुहुन्छ भने उहाँहरु आफैँले बनाएको कानुन आफैँले उल्लंघन गर्न मिल्दैन,’ उनले भने, ‘किनभने यो उहाँहरुले रोजेको आफैँले बनाएको विषय हो यो । त्यो भएको हुनाले हामीले थुप्रैलाई स्पष्टिकरण सोधेका छौं कारबाहीको ।’
वस्तुगत रुपमा यो–यो प्रमाण छ है भनेर उजुरी आएपछि त्यो उजुरीको आधारमा त्यसलाई आधार मानेर स्पष्टीकरण सोध्ने उनले बताए । अब स्पष्टीकरण सोध्नेबित्तिकै कारबाही भनेर हामीले बुझ्न मिल्दैन । स्पष्टीकरण सोध्ने भनेको अनुसन्धान गर्ने हो । त्यो अनुसन्धानको पाटोबाट रिपोर्ट आईसकेपछि त्यो रिर्पोटअनुसार यदि कसुरजन्य क्रिया गरेको छ भने, आचारसंहिता उल्लंघन गरेको छ भने आचारसंहिता उल्लंघन गरेको रहेछ भनेर आयोगले आवश्यक फैसला गर्ला ।’
आचारसंहिता उल्लंघन गरेको आयोगले देखेन भने तत्काल सफाइ दिने उनले बताए । ‘त्यसैले सुरुको कारबाहीको पाटो, जुन तपाई भन्नुहुन्छ, त्यसलाई कारबाही भन्न मिल्दैन,’ उनले भने, ‘सुरुको चाहिँ अनुसन्धान गरेको हो । अनुसन्धानबाट वस्तुगत विश्लेषणको आधारमा अनुसन्धान गरेर उहाँले आचार संहिता उलंघन गरेको कसुर देखियो भने बल्ल आयोगले त्यसलाई कारबाही गर्छ । अहिले भने सुरुको अनुसन्धानको पाटो मात्रै हो ।’
अनुसन्धानको पाटो, निर्णय गर्ने पाटो र कार्यान्वयन गर्ने पाटो तीन किसिमका हुने उनले बताए । ‘अहिले अनुसन्धानको पाटो हो । सबै नेताहरुले आचारसंहिता उल्लंघन गर्नु भयो भनेर जति उजुरी आएको छ । त्यो उजुरीलाई अनुसन्धान मात्रै गरेको हो, हामीले । कारबाही गरेको होइन ।’
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेका सबै उम्मेदवारमाथि स्पष्टीकरण सोध्ने कामलाई निरन्तरता दिइरहेको छ । अनुसन्धानको क्रममा त्यो पुष्टि भए मात्रै कारबाही हुने निर्वाचन आयुक्त भण्डारीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।