धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकहरु मुक्तिनाथ धार्मिक यात्रामा गएका छन् । धार्मिक यात्रामा जाने ज्येष्ठ नागरिकहरुलाई धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना लगायत वडा अध्यक्षहरुले बिहीबार एक कार्यक्रमका बीच बाजागाजासहित बिदाइ गरेका छन् ।
उपमहानगरपालिकाका ६८ देखि ९२ वर्षसम्मका १ सय ५० जनालाई पहिलो चरणमा धार्मिक टुरमा पठाइएको नगर प्रमुख हमालले बताए । उनले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रम अनुसार उनीहरुलाई तीर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको उनले जानकारी दिए ।
‘हामीले नगरको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने कार्यक्रम राखेका थियौँ । सोहीअनुसार हामीले उहाँहरुलाई मुक्तिनाथ पठाएका छौँ,’ हमालले भने, ‘अबको आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रति सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’
भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ । बिदाइ कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर, धार्मिक यात्रामा जान लागेका आफन्तहरुको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।