नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका छन् ।
झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार शर्माले बिहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा पारिएको भन्दै उनले भने, ‘त्यसैले परिवर्तन पछाडि फर्केर होइन, अगाडि बढेर हुने हो ।’
कार्यक्रममा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले विगतमा गरेको कामको मूल्यांकन गरेर विजय गराउनेमा आफू विश्वस्त रहेको बताए । उनले आफ्नो प्रतिस्पर्धी घटुवा हुनु भनेकै जितको संकेत भएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, समानुपातिक उम्मेद्वार तारा रुचाल, प्रदेशका समानुपातिक उम्मेद्वार बालजीत राई, एकीकृत समाजवादी मेचीनगर सचिव हरि तिम्सिना, कांग्रेस मेचीनगर–६ का वडा सभापति पारस सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।