शेख रसेल कप चेसको उपाधि बंगलादेशले जित्यो, नेपाल तेस्रो

शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । 

समान तीन-तीन म्याच प्वाइन्ट बनाएको श्रीलंकालाई गेम प्वाइन्टमा पछि पारेको बंगलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहन सफल श्रीलंकाले ३ हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि सुरु भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोली सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुबै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनशीपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ ईन्टरनेशनलमास्टरलाई प्रतिस्पर्धा गराएको थियो । 

पहिलो बोर्डमा ग्रान्डमास्टर ईनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले पराजित गरे । तेश्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सीदले हार चखाए भने चौथो बोर्डमा प्रतिष्पर्धा गरेका राजेन्द्र बज्राचार्य बंगलादेशी ईन्टरनेशनलमास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुगे ।

व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोश्रो बोर्डमा बिलमलाल र तेश्रो बोर्डतर्फ सिंगेश्वर दासले कास्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७९ शुक्रबार ७:३०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया