मुम्बई– बलिउड सुपरस्टार सलमान खान आउँदै गरेको फिल्म ‘भारत’का कारण चर्चामा छन् । यसै वर्ष रिलिज हुने फिल्मको सुटिङमा व्यस्त छन् उनी । सुटिङका फुटेजहरु यतिखेर सोसल मिडियामा भाइरल भइरहेका छन् ।
‘भारत’को टिजर सार्वजनिक भइसकेको छ । टिजर हेरेका दर्शक सिनेमा हेर्न आतुर छन् ।
यसैबीच, बुबा सलिमको एक अन्तर्वार्ताले सलमानका समर्थकमाझ हलचल मच्चाएको छ । केही दिनअघि एक अन्तर्वार्तामा सलिमले हिट एन्ड रन केसमा सलमान जेल चलान हुँदा उनको परिवारमा कस्तो असर परेको थियो भन्ने खुलासा गरे । उनले अन्तर्वार्तामा यस्ता कुरा सेयर गरे, यसअघि कसैलाई थाहा थिएन ।
दुर्घटनावाला केसमा सलमान १८ दिन जेल बसेका थिए । ‘सलमानलाई जेल हालिएको थियो । त्यतिवेला सलमानकी आमलाई प्रहरीले धेरै केरकार गर्यो, दुःख दियो,’ अन्तर्वार्तामा पिता सलिम भन्छन्, ‘त्यस दौरान मैले एउटा कुरा बुझ्न सकिनँ, किन कानुनमा आमाको लागि कुनै स्थान हुँदैन ? जब आमाले केही गरेकै छैनन् भने उनलाई सजाय किन दिइन्छ ?’
‘जेलमा सलमानको हालत देख्दा पानी पिउनँ पनि कठिन हुन्थ्यो । यो सोच्थौँ कि ऊ अहिले कस्तो अवस्थामा होला,’ उनी थप्छन्, ‘हामीलाई भेट्दा उसले भनेको थियो कि सुत्नलाई एउटा पातलो दरी भुइँमा बिच्छ्याइदिन्छन् र पानीको बाल्टी राखिदिन्छन् ।’
सलमानबारे बोल्दै सलिमले त्यतिवेला एक स्तम्भ पनि लेखेको बताए । उनले भने, ‘जब म सलमानलाई भेट्न जोधपुर गएँ, जेलमा भएका मान्छेहरु ३४३ भन्दै कराइरहेका थिए । उसलाई फेरि बन्द गर । उनीहरुले फेरि जोडले कराए, ३४३ आयो भनेर । जब हामीले पछाडि फर्केर हेर्यौ तब थाहा पायौँ कि त्यो ३४३ अरु कोही नभएर सलमान थियो । उसको दाह्री एकदमै लामो भइसकेको थियो । कपाल फुस्रो भएको थियो ।’
‘उसलाई देख्दा लाग्यो कि कसरी एउटा नाम नम्बरमा परिणत हुँदोरहेछ । त्यसबखत उसलाई भेट्न उसकी आमा पनि सँगै गएकी थिइन् । सलमानको हालत देखेर उनी धेरै रोइन्,’ उनले थपे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।