शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै कायम रहेको बताएका छन् । बागलुङको बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशी–विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताए ।
अझै प्रतिगमनको खतरा नटरेको बताउँदै उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुटाउन विदेशी शक्ति नेपालमा आएको बताउँदै उनले विभिन्न षड्यन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको बताए ।
निर्वाचन घोषणालगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नेपाल आएका थिए । सो अवसरमा उनले अधिकांश कम्युनिष्ट नेताहरुसँग भेट गरेको थिए । पौडेलले सोही भ्रमणलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन वाम–लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिएका छौँ, उनले भने, ‘देशी–विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे, तर विफल भएको छ ।’
देशमा विभिन्न समस्या रहेको बताउँदै उनले गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै उनले कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गत निर्वाचनमा सिसाखानीको पुल बनाउने बाचा गरेको स्मरण गर्दै उनले विभिन्न कारणले अल्झेको तर चाँडै काम हुने बताए । जनताको मतसँगै विकास र समृद्धि जोडिएको भन्दै उनले बागलुङको विकासका लागि जीवन रहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै शिक्षामन्त्री पौडेलले अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
प्रदेशसभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए ।
भ्रष्टाचार न्यूनीकरणका लागि जनता आफैँ सचेत हुनुपर्ने भन्दै उनले अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए ।
नेपालको आर्थिक वृद्धिदर १० प्रतिशतमा उकालियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।