त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ७८ हजार सेयर धनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । 

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयर धनीमध्ये झन्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ । 

साबिकका सर्वसाधारण सेयर धनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन सेयर धनीहरूलाई आग्रह गरे ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र सङ्कलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयर धनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्ने छ । 

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम सेयर धनीले प्रति कित्ता तीन रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । 
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयर धनीहरूले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । सेयर धनीहरूले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।



आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७९ आइतबार १३:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया