पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् । कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरूले निरन्तर दबाब दिइरहेका छन् ।

वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्‍याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो । तर, ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ ।

वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूले चालू आवको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार रुपैयाँ ब्याज नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार रुपैयाँ थियो ।

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा रु तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा रु दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।

ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः रु तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र तीन अर्ब २० करोड २७ लाख चार हजार रुपैयाँ खुद ब्याजबाट नाफा कमाएका छन् ।



राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज नाफा ३ अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः २ अर्ब १२ करोड ९५ लाख, २ अर्ब १२ करोड ८५ लाख र २ अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन् ।

प्रभु र कुमारी बैंकले १ अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैंक लिमिटेडले १ अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले १ अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले १ अर्ब ८३ करोड, हिमालयन बैंकले एक अर्ब ८० करोड र मेगा बैंकले एक अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् ।



  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार १३:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया