स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । गएराति इन्टर मिलानले जित निकालेपछि जर्मन क्लब बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै बाहिरिसकेको बार्सिलोना घरेलु मैदानमै ३–० ले पराजित हुन पुग्यो ।
समूह ‘सी’ अन्तर्गत क्याम्प नोउमा भएको खेलमा बायर्नलाई जित दिलाउन सादियो माने, एरिक चुपो मोटिङ र बेन्जामिन पाभार्डले एक/एक गोल गरे ।
खेलको १०औं मिनेटमा मानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ३१औं मिनेटमा मोटिङले टोलीको अग्रता दोब्बर बनाए । थप गरिएको समयमा पाभार्डले गोल गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए ।
जितसँगै ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहेको बायर्न समूह विजेता बन्ने पक्का हुँदा पराजित बार्सिलोना समान खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहँदै युरोपा लिगमा घटुवा भएको छ ।
यही समूहको अर्को खेलमा घरेलु टोली इन्टर मिलानले भिक्टोरिया प्लेजनविरुद्ध ४–० को फराकिलो जित निकाल्यो । यो नतिजासँगै बार्सिलोना समूहको तेस्रो स्थानमा रहेर बाहिरिने पक्का भएको थियो ।
सान सिरोमा इन्टरलाई जित दिलाउन एडेन जेकोले दुई तथा रोमेलु लुकाकु र हेनरिक मिखितार्यानले एक/एक गोल गरे । यो जितसँगै ५ खेलमा १० अंक जोडेको इन्टरले दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्ने पक्का हुँदा पराजित प्लेजन विना अंक पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।