विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध भारतको शानदार जित

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध भारत ५६ रनले विजयी भएको छ । जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो ।

अघिल्लो खेलमा उसले पाकिस्तानलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्ड्सको भने यो लगातार दोस्रो हार हो ।

ऊ पहिलो खेलमा बंगलादेशविरुद्ध ९ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो ।

उसका लागि टिम प्रिन्गलले २०, कोलिन एकरम्यानले १७, म्याक्स ओदाउद, बासडी लीडे, सरिज अहमदले १६/१६ र पउलभान मेक्रमले अविजित १४ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, अर्शदीप सिंह, अक्षर पटेलले दुई/दुई र मोहम्मद शामीले एक विकेट लिए । 

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डसमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १ सय ७९ रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले ।



४४ बलको सामना गरेका कोहलीले तीन चौका र दुई छक्काको मद्दतमा अविजित ६२ रन बनाए । त्यस्तै, रोहितले ३९ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए ।

सूर्यकुमारले ३८ बलमा एक छक्का र सात चौकाको मद्दतमा अविजित ५१ रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि पउलभान मेक्ररम र फ्रेद क्लासेनले एक/एक विकेट लिए ।   



  • प्रकाशित मिति : कात्तिक १०, २०७९ बिहीबार १७:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया