झडपमा संलग्न भएको आरोपमा वडाध्यक्ष पक्राउ

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा भएको झडपको मुख्य योजनाकार रहेको आरोपमा खप्तडछान्ना गाउँपालिका– ६ का वडाअध्यक्ष तेजबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भाइटीकाको दिन सो वडामा दुई पक्षबीच झडप भएको थियो । दुई पक्षबीच झडप हुँदा चारजना घाइते भएका थिए । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

वडा अध्यक्षसहित वडा अध्यक्षका भाइभतिजाले ज्यान मार्ने उद्देश्यले योजना बनाई आफूमाथि हमला गरेको अर्को पक्षको आरोप छ । पुरानो झगडाको विवादलाई लिएर झगडा हुँदा खप्तड छान्ना– ६ पुजारीगाउँ बस्ने नेपाली काङ्ग्रेस तरुण विभागका केन्द्रीय सदस्य वसन्त खड्का, उनका काका दीपक खड्का र नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तेज खड्काका भाइ त्रिभुवन खड्का र प्रकाश खड्का घाइते भएका थिए ।  

वसन्त खड्का र दीपक खड्कालाई गम्भीर चोट लागेकोले प्रहरीको भनाइ छ ।पाटादेवल प्रहरी चौकीका असई रामबहादुर बलामेले साँझतिर पाटादेवलमा वसन्त खड्कालाई देखेर त्रिभुवन खड्काले गाली गर्दै आएको बताए ।  

दुईपटकसम्म सम्झाएर घर पठाए पनि त्रिभुवनका भाइ प्रकाश खड्का, कटक खड्का, भतिजा उज्वल खड्का र राजकुमार खड्का आएर वसन्त खड्कामाथि हमला गरेको उनले बताए ।
 
झडपलाई शान्त गर्न खोज्दा तीनजना प्रहरी समेत सामान्य घाइते भएको छन् । पुरानो झगडाको विषयलाई लिएर उनीहरुबीच झडप सुरु भएको प्रहरीको भनाइ छ । 

तरुण दलका नेता समेत रहेका वसन्त खड्का र उनका काका दीपक खड्काको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र उनीहरुको जिल्ला अस्पतालतामा उपचार हुन नसकेपछि धनगडी रिफर गरिएको छ । 



यस्तै त्रिभुवन खड्का र प्रकाश खडकाको समेत टाउकोमा चोट लागेको छ । उनीहरुको पनि धनगढीमा उपचार भइरहेको छ । 

यता वसन्त पक्षले वडा अध्यक्ष तेजबहादुर खड्काले योजनाबद्ध ढंगले आफूहरुमाथि सांघातिक हमाला गरेको दाबी गरेको छ । गाउँ–घरमा एक्ला एक्लै आउँदा–जाँदा पनि बाटो घाटोमा लागेर निहुँ खोज्दै गाली गर्दै आएको वसन्त पक्षको आरोप छ । 



निर्वाचन नजिक आएकोले योजना बनाई प्रहरी चौकीको आँगनमा प्रहरीहरुकै अगाडि घरेलु हतियार प्रयोग गरी हात खुट्टा र टाउकोमा ढुंगाले थिचेर मार्ने योजना बनाएको वसन्तका काका टेकबहादुर खड्काले बताए ।
 
यता, वडा अध्यक्ष तेजबहादुर खड्काले आफू वडा कार्यालयमा भएको र घटनामा संलग्न नरहेको बताएका छन् । दुई पक्षबीच भनाभन भएपछि दोहोरो झगडा भएकाले दुवै पक्ष घाइते भएको वडाध्यक्ष खड्काले बताए ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १९:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया