शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् ।
शनिबार गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए ।
केपी ओलीले दुई–दुईपटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भई संविधानको रक्षा भएको उनको दाबी छ ।
राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताउँदै मन्त्री पौडेलले अब बन्ने गठबन्धनको सरकार संविधानको मूल मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे । अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गर्दै उनले भने, ‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बन्छ ।’
आफूले बाँचुन्जेल बागलुङको विकासका लागि लागिपरिरहने उनले बताए । बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै मन्त्री पौडेलले अहिले नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै उनले जग्गा प्राप्तिपछि भौतिक संरचना बन्ने बताए ।
बागलुङ–२ प्रदेश क का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले हरेक कुरामा परिर्वतन गरी जनताको जीवनस्तर उठाउन आफूहरुको उम्मेदवारी भएको बताए ।
नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका शेरचनले ग्रामीण क्षेत्रका समस्या समाधान नभएसम्म देशको प्रगति नहुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।