नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन्।
उनले जनता, गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनताविरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारे। नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल्न कार्यकर्तालाई निर्देशन दिए।
झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले नेकपा (एमाले) मार्क्सवाद–लेनिनवाद भन्दै हिँड्ने, कांग्रेससँग मिलेर संघर्ष गर्ने, मुलुकमा गणतन्त्र ल्याउने अनि अहिलेचाहिँ राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ ? भन्दै प्रश्न गरे।
अघिल्लो निर्वाचनको स्मरण गर्दै नेता सिटौलाले भने, ‘यस क्षेत्रमा जिताएर पठाएका सांसदले यो क्षेत्रमा कस्ता–कस्ता विकास गरे, तपाईंले के पाउनुभयो ? त्यसकारण यसपटकको मत खेर नफाल्न तपाईं सबैलाई आग्रह गर्न चाहन्छु, अब तपाईं आफैँ उम्मेदवार भएर मत माग्न जनताका घर–घर गइदिनुहोस्।’
नेता सिटौलाले यस क्षेत्रको विकासका लागि आफू लागिपर्ने र लामो संघर्षपछि प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सबै नागरिकलाई समृद्ध बनाउने बाटोमा डोर्याउन आफू लागिपर्ने बताए।
नेपाली कांग्रेसभित्र इमान्दारिता रहेको र यो पार्टी इमान्दारिताले नै चलेको उल्लेख गर्दै उनले कांग्रेसले कुनै दिन पनि जनतालाई नझुक्याएको बताए।
यसपटकको निर्वाचन व्यवस्थाको रक्षाका लागि भएको र इमान्दारिताका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन नेता सिटौलाले आग्रह गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।