विश्वकप क्रिकेटमा जिम्बाब्वेविरुद्ध बंगलादेशको रोमाञ्चक जित

अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत जिम्बाब्वेविरुद्ध बंगलादेश तीन रनले विजयी भएको छ । जारी विश्वकपमा बंगलादेशको यो दोस्रो जित हो ।

उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा भने बंगलादेश दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित हुन पुग्यो ।

जिम्बाब्वेको भने यो पहिलो हार हो । उसले पहिलो खेलमा दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँड्याे । दोस्रो खेलमा जिम्म्बाब्वेले पाकिस्तानलाई एक रनले हरायो ।

आफ्नो तेस्रो खेलमा बंगलादेशले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । 

उसका लागि शेन विलियम्सले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले आठ चौकासहित ६४ रन बनाए । त्यस्तै, रयान बर्लले अविजित २७ र रेजिस चकाब्वाले १५ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बंगलादेशका लागि तस्किन अहमदले चार ओभरमा एक मेडनसहित १९ रन दिएर तीन विकेट लिए । त्यस्तै, मोसाद्देक हुसेन र मुस्तफिजुर रहमानले दुई/दुई विकेट हात पारे । त्यसअघि ब्रिसबेनमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो ।



उसका लागि ओपनर नजमुल हुसेन शान्तोले अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले सात चौका र एक छक्काको सहयोगमा ७७ रन बनाए । त्यस्तै, अफिफ हुसेनले २९, कप्तान शाकिब अल हसनले २३ र लिटन दासले १४ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । जिम्बाब्वेका लागि ब्लेसिङ मुजरबानी र रिचर्ड नाग्रावाले दुई/दुई, सिकन्दर राजा र वेस्ली मधेभरेले एक/एक विकेट हात पारे ।



आजको जितसँगै बंगलादेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिम्बाब्वे तेस्रोबाट चौथो स्थानमा खस्किएको छ । दक्षिण अफ्रिका तेस्रोमा खस्किँदा भारत शीर्ष स्थानमा कायमै छ । 

  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १२:३६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया