घनश्याम भुसाल भन्छन् - प्रधानमन्त्री बनेपछि केपी ओलीमा दम्भ चढ्यो
फाइल तस्बिर

नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई छ । 

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको बताए ।

‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन । यी पार्टीका पनि कमिला बराबर नै हुन । यी जनता भनेका, अरू पार्टी भनेका कांग्रेस भनेका यी छिचिमिरा हुन । यिनको काम छैन भन्ने हिसाबले सोच्नु भयो,’ उनले भने, ‘संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ । मसँग जति यो सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो ।’ 

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे । 

‘उहाँले संविधानमाथि पनि आक्रमण गर्न थालेपछि, संसदमाथि पनि आक्रमण गर्न थालेपछि ओलीजीको समस्या एमालेले त व्यहोरेको थियो थियो । अव मुलुकले पनि समस्या व्यहोर्न थाल्यो । उहाँले संसद विघटन गरिदिनु भयो,’ उनले भने, ‘त्यो संविधान यत्रो रगत, पसिना बगाएर ल्याएको संविधान छ जनताले ७० वर्षसम्म लडेर ल्याएको । त्यसो भएपछि हामीले उहाँको विरोधमा उत्रनुपर्ने भयो ।’



आफू सडकमा निक्लनुपर्ने अवस्था आएको भन्दै उनले भने,  ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहङ्कार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौँ । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनर्स्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो । अह दिनु भएन ।’

नेता भुसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोप समेत लगाए ।  



  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १४:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया