के चितवन २ मा रवि लामिछानेको ‘क्रेज’ बढेको हो ?

पत्रकारितापछि राजनीतिमा होमिएका रवि लामिछाने पछिल्ला केही दिन यता चितवनमा व्यस्त देखिएका छन्् । सामाजिक सन्जालहरुमा आएका ससाना भिडियो क्लिपहरुमा अहिले रवि लामिछानेलाई चितवन क्षेत्र नम्बर २ का युवा तथा ज्येष्ठ नागरिकहरुले रुचाएको वा प्रश्न गरेको देख्न सकिन्छ । 

४ मंसिरमा हुने निर्वाचनमा पहिले काठमाडौंकै कुनै क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्छन् भन्ने अनुमान गरिएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको । तर, जसै निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने दिन आयो, रवि चितवन जाने भन्ने चर्चा चल्न थाल्यो । पहिले रवि लामिछाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुने भनिएको चितवन ३ बाट उम्मेदवार बन्दै छन् भन्ने चर्चा चल्यो । 

तर, २२ असोजमा रवि लामिछाने चितवन पुग्दा प्रचण्ड गोरखा २ बाट चुनावमा प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको थियो । बरु रवि लामिछानेले चितवनको २ वा ३ नम्बर कुन क्षेत्रबाट उम्मेदवारी दिने हुन् भन्ने निश्चित भइसकेको थिएन । 

अन्तिममा उनले चितवन २ बाट उम्मेदवारी दिने निर्णय गरे । उनको यो निर्णय आएपछि उनकै कार्यकर्ताले उनको विरोध गरे, उनलाई घेरे । आफूहरुले रविले चितवन ३ बाट उम्मेदवारी दिने भनेर तयारी गरेको भन्दै उनीहरुले रविले अचानक २ नम्बर क्षेत्र रोज्नु अप्ठ्यारो हुनसक्ने समेत बताए । कतिसम्म भने कार्यकर्ताले रवि लामिछाने आएकै कारण प्रचण्डले चितवन ३ नम्बर क्षेत्र छाडेको समेत बताए । 

तर, कार्यकर्ताको यो गुनासोलाई रविले त्यति बेला प्रष्ट जवाफ दिएर सम्झाएनन् । उनले आफूले चितवन क्षेत्र नम्बर २ रोज्नुको कारणलाई गतिलो जवाफ पनि दिएनन् । हो, उनले चितवन रोज्नुको विषयलाई आफ्नो विगतसँग जोडेका थिए । 

आत्महत्या दुरुत्साहन आरोपमा हिरासतमा रहेका रविले आफू छुट्ने समयमा चितवनमा भेला भएको समर्थकको समूह देखेर आफूले चितवन रोजेको जवाफ दिएका थिए । तर, प्रचण्डविरुद्ध लड्न चितवन ३ रोजेका रविले किन चितवन २ अन्तिममा आफ्नो चुनावी मैदान बनाउने निर्णय गरे त ? यसको जवाफ उनले अहिलेसम्म दिएका छैनन् ।



तर, पछिल्लो समय चितवन २ मा रविको क्रेज राम्रो हुँदै गएको त्यहाँका स्थानीयहरुले बताउन थालेका छन् ।

यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालको पक्षमा खुलेर लागेका चितवनका एक व्यवसायी भन्छन्, ‘चितवन २ सुरुमा रवि लामिछानेले रोज्दा उनले गलत गरे भन्ने लागेको थियो । तर, पछिल्लो समय उनको क्रेज त्यहाँ बढ्दै गएको देखिन्छ । यसलाई कायम राख्न सके भने चितवन २ मा रवि लामिछानेले चुनाव जित्छन् ।’



चितवन २ मा नेपाली कांग्रेसले उमेश श्रेष्ठलाई अगाडि सारेको छ भने नेकपा एमालेले कृष्णभक्त पोखरेललाई अगाडि सारेका छ ।

चितवन ३ मा नेकपा एमालेले आफ्ना उम्मेदवारलाई पछाडि हटाएर नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई समर्थन गर्ने भइसकेको छ । नेकपा एमालेले कोइरालालाई चितवन ३ मा समर्थन गर्दा उनले २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेललाई साथ दिने सहमतिसमेत भएको नेकपा एमालेका नेताहरु बताउँछन् । तर, पछिल्लो समय नेकपा एमालेका पोखरेलप्रति चितवन २ मा गुनासाहरु धेरै भएकाले पनि रवि लामिछानेलाई यो क्षेत्रमा सहज हुनसक्ने स्थानीय नेताहरु बताउँछन् ।

भरतपुर महानगरपालिकाको स्थानीय चुनावमा चितवन २ मा पर्ने वडाहरुबाट तत्कालीन बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ६ हजारभन्दा बढी मत ल्याएका थिए । अहिलेको निर्वाचनमा यो क्षेत्रमा यी सबै मत रविलाई आउने उनको पार्टीले अनुमान गरेको छ । त्यस्तै, कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ भए पछि त्यहाँ असन्तुष्ट कांग्रेसी मतदाताको मत पनि आफूहरुलाई आउने रविको पार्टीको अनुमान छ ।

त्यस्तै, नेकपा एमालेका चितवनका युवाहरु पनि रवि लामिछानेको समर्थनमा देखिएकाले एमालेका युवाहरुको भोट पनि रविले यो क्षेत्रमा आफूलाई तान्न सक्ने अनुमान उनको दलले गरेको छ ।

एक लाख २४ हजारभन्दा धेरै मतदाता रहेको यो क्षेत्रमा नेपाली कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउनु आफ्नो मत काट्नु भएको कांग्रेसकै केही नेताहरु बताउँछन् । ‘पार्टीले उहाँलाई प्रत्यक्ष चुनाव लड्न र त्यो पनि चितवनमा पठाउनु हुन्थेन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘उहाँले उम्मेदवारको टिकट पाएपछि चितवन कांग्रेसमा पहिले देखिएको असन्तुष्टि थप बढेको हो ।’

कांग्रेसको यही असन्तुष्टि र नेकपा एमालेका कृष्णभक्त पोखरेलले बारम्बार केही पनि गर्न नसकेको भानका कारण पछिल्लो समय चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको क्रेज थप बढेको देख्न सकिन्छ ।

स्थानीय तह निर्वाचनको अंकगणितलाई ख्याल गर्ने हो भने चाहिँ यो क्षेत्रमा पर्ने वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतसंख्याको आधारमा नेकपा एमाले सबैभन्दा अगाडि छ । नेकपा एमालेबाट उठेका वडाध्यक्षहरुले यो क्षेत्रमा ३५ हजार ५ सय ४३ मत पाएका थिए । त्यस्तै, गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३ सय ९४ मत पाएका थिए ।

यो क्षेत्रका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवैमा जित निकालेको थियो ।

तर, स्थानीय तहको परिणामअनुसार रवि लामिछानेको मत गणना गर्न नहुने उनका सहयोगीहरुले बताउन थालेका छन् । ‘स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा एमालेका उम्मेदवारलाई मत दिएकाहरुले अहिले हामीलाई मत दिँदै छन्,’ उनका एक सहयोगी बताउँछन् ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १६:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया