मोरङ ६ का सबै सिटमा चुनाव जित्ने बस्नेतको दाबी

चाडवाडहरूको समापनसँगै मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचनको मैदानमा पार्टी र उम्मेद्वारहरू प्रचार अभियानमा जुटेका छन् । 

निर्वाचन आचारसंहितालाई ख्याल गर्दै नेकपा (एमाले) मोरङका सबै उम्मेद्वार यतिबेला जनताको घरदैलोमा पुगेका छन् । 

यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ६ (क) का उम्मेद्वार पर्शुराम बस्नेतले अरुलाई हराउनभन्दा पनि ‘आफू जित्न’ चुनावी प्रचार अभियानमा जुटेको बताएका छन् । आफ्नो क्षेत्रको प्रचार अभियानमा रहेका बस्नेतले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।

पार्टीका जुझारु एवं सक्रिय युवा नेताको रुपमा परिचित बस्नेत मोरङको क्षेत्र नं. ६ मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै स्थानमा एमालेले जित्ने दाबी गरेका छन् । कतिपय उम्मेद्वार अरुलाई गालीगलौज समेत गरेको सुनेको बताउने बस्नेतले ‘आफू अरुलाई गाली गरेर वा अरुलाई हराउँछु’ भनेर होइन ‘हाम्रो पार्टीका उम्मेदवारहरू जित्छौँ’ भन्दै प्रचारमा हिँडेको बताए । 

प्रचार अभियानमा जनताको भावनालाई शीरोपर गरेको बताउने बस्नेतले नेकपा एमालेको सरकारका पालामा भएका सबै कामहरूको सकारात्मक प्रभाव परेको बताए । भविष्यमा पनि जनताको हित सर्वाेपरि हुने योजना बताउँदा एमालेप्रतिको जनभावना एकदमै सकारात्मक देखिएकाले यस क्षेत्रका तीनै सिटमा चुनाव जित्ने बस्नेतको दाबी रहेको छ ।
 
उनले ‘विगतमा जनताको चाहनाका आधारमा काम गरेको थिएँ, आज पनि गरेको छु’ भन्दै भोलि पनि जनताको पक्षमै काम गर्ने वाचा दोहोर्याए ।
 
बस्नेतले निर्वाचित भएर गएपछि धेरै ‘नमुना काम’ गर्ने बाटो प्रशस्त गर्नका लागि पनि मतदाताले आफूलाई जिताउने दाबी गरेका छन् । निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका बस्नेतले सञ्चारकर्मीसँगको कुराकानीनमा आफू प्रतिस्पर्धीसँग एकदमै मर्यादित एवं स्वस्थप्रतिस्पर्धा गरी निर्वाचनमा विजयी हुन चाहेको पनि बताए । 

उनको क्षेत्रमा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कार्की तथा स्वतन्त्र उम्मेदवार गोपाल रेग्मी पनि प्रतिस्पर्धामा छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १९:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया