ललितपुर–१ः उदयशम्शेर राणा र नवराज सिलवालमध्ये कसलाई कति सहज ?

ललितपुर क्षेत्र नम्बर १ मा यसपटक फेरि नेपाली कांग्रेसका उदयशम्शेर राणा र नेकपा एमालेका नवराज सिलवाल एकअर्काका प्रतिस्पर्धी भएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राणाले टिकट पाएको यो क्षेत्रमा नेकपा एमालेले अरु कसैसँग पनि यसपटक तालमेल गरेको छैन । यसअघि २०७४ सालको निर्वाचनमा चाहिँ सिलवालले राणालाई नमिठो हार चखाएका थिए ।

त्यसको बदला लिन चाहेका छन्, यसपटक राणाले । तर, के उनलाई ललितपुर १ सहज होला त ?

नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिएका राणा भारतसँग नजिक कांग्रेसी नेता पनि हुन् । यसपटक गठबन्धनका उम्मेदवार भएकाले उनलाई केही सहज हुने अनुमान गरिएको छ । 

त्यसो त वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंक गणितलाई हेर्ने हो भने पनि राणालाई कांग्रेसी मतदाताले मत दिँदा सहज हुने देखिन्छ । स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पर्ने वडाहरुका वडाध्यक्षका उम्मेदवारहरुले २३ हजार ८ सय ५८ मत ल्याएका थिए । नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले १८ हजार ९ सय २३ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले ६ हजार १ सय र राप्रपाका उम्मेदवारहरुले १ हजार ७ सय मत ल्याएका थिए ।

ललितपुरको गोदावरी नगरपालिकाको वडा नम्बरहरु १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका मिलाएर बनाइएको यो क्षेत्रमा यसअघि निर्वाचन जितेका नवराज सिलवालको छवि र प्रभाव राम्रै रहेको मानिन्छ । अर्कोतिर राणा जनतासँग त्यति घूलमिल नभएको मानिन्छ ।



२०७४ सालको निर्वाचनलाई हेर्ने हो भने राणाले त्यति बेला २० हजार ७ सय मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रको पनि समर्थन पाएका सिलवालले चाहिँ २६ हजार ९ सय ५१ मत ल्याएका थिए ।

नेपाल प्रहरीका डिआइजी भएका सिलवालले एमालेको राजनीतिमा प्रवेश गर्दा आफूलाई एमालेको इमान्दार सिपाही भएको बताएका थिए । उनले सांसद निर्वाचित भएर आएका यी पाँच वर्षमा यो क्षेत्रमा राम्रो प्रभाव बढाउँदै लगेको त्यहाँका मतदाताले बताउने गरेका छन् । त्यसैले पछिल्लो समय भएको एमाले विभाजनका कारण सिलवाललाई त्यति धेरै फरक नपर्ने त्यहाँका मतदाताले बताएका छन् । 
 



अर्कोतिर, नेपाली कांग्रेसका उदय राणा त्यहाँको विकासका लागि आफू राजनीतिमा आएको बताए पनि मतदातासँग खासै घुलमिल हुन नसकेको नेपाली कांग्रेसकै नेताहरुले पनि बताउने गरेका छन् । ‘नेताको भिजन एक ठाउँमा छ अर्को ठाउँमा उसले आफ्ना मतदातासँग योबीच कसरी काम गरेको छ भन्ने महत्वपूर्ण हुँदो रहेछ,’ नेपाली कांग्रेसका ललितपुरका एक नेताले फरकधारलाई भने, ‘राणाजीमा त्यस्तो घुलमिल हुने परिपाटी वा सन्दर्भ देखिँदैन । यसले गर्दा उहाँलाई यो क्षेत्रमा अहिले माओवादीको मत आफ्नोमा ल्याउन गाह्रो देखिएको छ ।’

स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धन अगाडि देखिए पनि त्यहाँका मतदाताले प्रतिनिधि सभा निर्वाचनमा कसलाई विश्वास गर्ने हुन्, त्यो हेर्न बाँकी नै छ । 

यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि जसपाबाट गोपालराज राई, राप्रपाबाट सन्दीप आचार्य, नेमकिपाबाट कविन्द्र डंगोल, लोसपाबाट मनिषबहादुर श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचिनकुमार घिमिरेले उम्मेदवारी दिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १२:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया