आरजुले छाडेको कैलाली–५ मा कसले मार्ला बाजी ?

आमनिर्वाचन आउन अब १८ दिन मात्र बाँकी छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न रातदिन नभनी चुनावी प्रचारमा व्यस्त छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले कैलाली–५ छोडेपछि यस क्षेत्रको चासो सर्वत्र छ ।

यहाँ प्रतिनिधिसभाका लागि १० जनाको उम्मेदवारी परे पनि विशेष गरी तीनजनामा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, नेकपा एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवारी दिएका पुस्करनाथ ओझाबीच नै प्रतिस्पर्धा हुने चर्चा छ ।

गठबन्धनका उम्मेदवार डिल्लीराज पन्त यसअघि कैलाली ५ (ख) बाट प्रदेश सभास सदस्य हुन । पन्त भन्छन्, ‘जनताले मेरो इमान्दारीको मूल्यांकन यसअघि पनि गरेका हुन् । अब पनि गर्नेछन् ।’ उनले यहाँका जनताका समस्यामा आफू जहिले पनि अगाडि रहेको बताए । 

कैलाली–५ बाट प्रधानमन्त्रीपत्नी आरजुले मनोनयनको केही महिनाअघि आफू चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । आरजु एक्कासि कैलाली–५ बाट ब्याक भएपछि गठबन्धनले पन्तलाई उम्मेदवारी बनाएको हो । 
कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका पुस्करनाथ ओझाको पनि अर्का प्रभावशाली उम्मेदवार हुन् । ०७४ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराएको आरोपमा उनी कांग्रेसको कारबाहीमा परेका हुन् ।  ओझाको स्वतन्त्र उम्मेदवारीले गर्दा कांग्रेसका लागि नै घातक हुने चर्चा पनि हुन थालेको छ ।

ओझा कैलाली ५ मा कांग्रेसका स्थापित नेता हुन् । ०७० सालको उपनिर्वाचनमा ओझा यस क्षेत्रबाट चुनाव जितेका थिए । डडेल्धुरा र त्यतिबेलाको कैलाली ६ बाट जितेका शेरबहादुर देउवाले यो क्षेत्र छोडेपछि ओझाले चुनाव जितेका हुन् । ओझालाई ०७४ सालको निर्वाचनलगत्तै कांग्रेसले साधारणसदस्य समेत नरहने गरी कारबाही गरेएको थियो । 

ओझासँगै कारबाही गरिएका अरू धेरै नेता–कार्यकर्ताको स्थानीय निर्वाचन ०७९ अघि नै कारबाही फुकुवा भए पनि ओझाको भने भएन । ‘मेरो उम्मेदवारी धनगढीको विकासका लागि हो । धनगढी बनाउनुपर्छ भनेर हो, कसैले मनपरी गर्न नपाओस् भनेर हो,’ उनले भने । 



वाम लोकतान्त्रिक गठबन्धनका पन्त र असन्तुष्ट कांग्रेसको बलमा उम्मेदवारी दिएका ओझाबीचको लडाइँको फाइदा एमालेका नारदमुनि रानालाई हुने पनि कतिपय बताउने गरेका छन् । राना पनि घर–दैलोमा व्यस्त रहेका छन् । उनले गाउँ केन्द्रित प्रचारलाई बढी जोड दिएका छन् । उनले थारु समुदायको मत पाउने धेरैको बुझाइ रहेको । थारु समुदायको मत मात्र यस क्षेत्रमा ३० हजारमाथि छ ।

०७४ सालको निर्वाचनमा रानाले आरजु देउवालाई चार हजार ८८० मतले पराजित गरेका थिए । ‘कैलालीको गौरीफन्टा नाकादेखि धनगढी–खुटिया सडक, हुलाकी राजमार्गजस्ता विकास निर्माणका काममा खटिएको जनताले देखेका छन्, मेरो जित्ने आधार त्यही हो,’ रानाले भने ।



पार्टीको मतका आधारमा यस क्षेत्रमा नेकपा एमाले दोस्रो स्थानमा रहे पनि उनलाई सामुदायिक भोट आउने गरेको छ । कैलाली क्षेत्र नम्बर ५ को एउटा रोचक पक्ष कुरा के छ भने सो क्षेत्रमा उम्मेदवारले दोहोर्याएर जितेको इतिहास अहिलेसम्म छैन् । 

धनगढी उपमहानगरपालिकामा भएका यसअघिका चुनावमा यहाँका मतादाताले एकपटक कांग्रेस, एकपटक एमालेका उम्मेदवार जिताउँदै आएको देखिएको छ । ०६४ मा पहिलोपटक भएको संविधानसभाको निर्वाचमा तत्कालीन नेकपा माओवादीबाट लीला भण्डारी निर्वाचित भएकी थिइन् । हाल उनी पनि एमालेमा छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार गोपाल हमाल प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतान्तरले विजयी भएका थिए । कांग्रेसका नृपबहादुर ओडले १४ हजार ८१७ मत पाउँदा हमालले २६ हजार ५६५ मत मत पाएका थिए । यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका पूरै (१९ वडा) र कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ गरी २ वडा समेटिएको छ । तथ्यांकको दृष्टिकोणले हेर्ने हो भने यस निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन दोब्बर मतले बलियो छ । 

स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ । 
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १६:५१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया