बैतडीको पाटनमा नमुना मतदान, ७ मत बदर

जिल्ला निर्वाचन कार्यालयले बैतडीको पाटनमा मंगलबार आयोजना गरेको नमुना मतदानमा ७ मत बदर भएको छ । आसन्न निर्वाचनलाई ध्यानमा राखेर पाटन बजार क्षेत्रमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।

एक जनाले ४ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले ७१ जनाले मतदान गर्दा २८४ मत खसेकोमा ७ मत बदर भएको फुँयालले बताए । मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमुना मतदानको आयोजना गरिएको उनले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा नमुना मतदान सम्पन्न गरिने फुँयालले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयले शहरी क्षेत्रमा मात्रै नमुना मतदान कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण क्षेत्रमा नमुना मतदान सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका छन् । तर समयको अभावले पालिकाका केन्द्रहरु नजिक रहेका बजार क्षेत्रमा मात्रै नमुना मतदान सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिए ।

यो चुनावमा मतदाता शिक्षा समेत सञ्चालन नभएकाले बदर मतको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ग्रामीण क्षेत्रका धेरै नागरिकलाई मतदान गर्ने तरीकाका बारेमा थाहा नहुँदा समस्या हुन सक्ने आँकलन गरिएको छ । तर निर्वाचन कार्यालयले भने धेरै पटक निर्वाचन भइसकेकाले मतदाता नअलमलिने दाबी गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १९:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया