राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक कटुवाल नयाँ चुनौतीका लागि तयार

घरेलु प्रतियोगिता तथा उमेर समूहमा राम्रो खेलाडीका रूपमा आफूलाई स्थापित गराएका झापाका प्रवेश कटुवालले नेपालको सिनियर फुटबल टोलीबाट भने कहिले पनि खेल्न पाएनन् ।  

सन् २००० को एसियाली यू–१६ च्याम्पियनसिप छनोट चरण पार गरेर खेलेका प्रवेश यू–२३ सम्मको टोलीमा स्थान बनाए पनि सिनियर टोलीबाट खेल्ने उनको सपना पूरा हुन सकेन ।

खेल्दाखेल्दै प्रशिक्षक कोर्स गरेका उनले घरेलु फुटबलमा भने आफूलाई अब्बल साबित गराइसकेका छन् । लगातार दुई पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेर प्रशिक्षकका रूपमा सबैभन्दा ठूलो उपलब्धि हात पारेका छन् । 

अहिले उनै प्रवेश कुटवालको राष्ट्रिय टोलीमा प्रवेश भएको छ । तर, फरक भूमिकामा । खेलाडीका रूपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने अवसर नपाए पनि उनले प्रशिक्षकका रूपमा टोलीको कमान्ड सम्हाल्ने अवसर प्राप्त गरेका छन् । 

नेपालले ३० कात्तिकमा त्रिपुरेश्वस्थित दशरथ रंगशालामा पाकिस्तान विरुद्ध एक मैत्रीपूर्ण खेल  खेल्दैछ त्यसैका लागि प्रवेश नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाकिस्तानसँगको खेल पक्का भएसँगै मंगलबार ४२ वर्षीय प्रवेशलाई प्रशिक्षक नियुक्त गर्दै नियुक्ति पत्र समेत दिइसकेको छ । प्रवेशले ३० सदस्यीय प्रारम्भिक सूची सार्वजनिक गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् । 



राष्ट्रिय टोली चुनौतीपूर्ण

राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न सहज नुहुने विषयमा राम्रोसँग जानकार रहेका प्रवेशले यो चुनैतीपूर्ण रहे पनि आफू त्यसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । 



प्रवेशले एन्फा मिडियासँगको कुराकानीमा राष्ट्रिय टिम हेर्नु चुनौतीपूर्ण भए पनि आफू यो अवसरलाई गुमाउन नचाहेको बताए । ‘मलाई थाहा छ राष्ट्रिय टोली सम्हाल्नु एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चीज हो जसलाई म गुमाउन चाहन्न । म अझ काम राम्रो गर्न चाहन्छु’, प्रवेशले भने ।  

उनले पाकिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्के पनि त्यहाँका खेलाडी विदेशमा खेलेकोले उसकोविरुद्ध खेल्न कठिन हुने पनि बताए ।

‘हामीलाई थाहा छ पाकिस्तान वर्षौँपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन् । उ बलियो टोली हो र निश्चित रुपमा हामी तिनीहरूलाई हराउन चाहन्छौं,’प्रवेशले भने ।

गत जुनमा मात्र फिफाको निलम्बनबाट छुटकारा पाएको पाकिस्तानले भने नेपालसँगको खेलबाटै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । पाकिस्तानले नेपालसँगको खेलका लागि नै एक महिना अघि देखि प्रशिक्षण गर्दै आएको छ। नेपालले भने जम्मा दुई साताको तयारीपछि नै खेल्नुपर्ने अवस्था छ ।

लगातार दुई पटकका लिग विजेता प्रशिक्षक

राष्ट्रिय टोलीबाट खेल्न अवसर नपाए पनि घरेलु फुटबलमा भने खेलाडी तथा प्रशिक्षकका रूपमा प्रवेशले सफलता हात पारेका छन् ।

खेलाडीका रूपमा उनले २०६१ सालमा थ्रीस्टारबाट लिग जितेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी, रानीपोखरी कर्न टिम (आरसीटी) र मछिन्द्रबाट पनि शीर्ष लिग तथा झापा ११ बाट राष्ट्रिय लिग खेले ।

एएफसी ए लाइसेन्स कोर्स पूरा गरेपछि उनलाई २०७६ को लिगमा ‘ए’ डिभिजनका उत्कृष्ट  क्लबबाट प्रशिक्षक बन्न अफर आए पनि प्रवेशले आफूले पछिल्लो पटक लिग खेलेको मछिन्द्र क्लब नै रोजे ।

मछिन्द्रले लिग जित्ने महत्वाकांक्षी योजना सहित ११ जना नाम चलेका खेलाडी का साथै प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी प्रवेश कटुवाललाई भित्र्याएको थियो । प्रवेशसँग त्यसअघि ‘ए ’डिभिजन लिग खेलेको अनुभव भए पनि प्रशिक्षक तर उनीसँग शीर्ष लिगमा प्रशिक्षण गरेको अनुभव भने थिएन । 

प्रवेशले त्यसअघि मोफसलको झापा ११ को प्रशिक्षक भएर काम गरिसकेका थिए । एएफसी ए लाइसेन्स प्राप्त गरिसकेपछि प्रवेश कटुवालले शीर्ष डिभिजन क्लबको प्रशिक्षण सम्हाल्ने ठूलो अवसर पाए ।

स्टार खेलाडीको भरिएको मछिन्द्रलाई क्लब पदाधिकारी र प्रवेशले राम्रोसँग व्यवस्थापन गर्दै उपाधि यात्रा दिलाए । उनको प्रशिक्षणको पहिलो सिजन मछिन्द्रले  एक अंक ऋणबाट लिग सुरु गरेको थियो र अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई क्लबलाई १–० ले हराएर क्लबले पहिलोपटक लिग उपाधि पनि उचाल्यो।

२०७५को बिना रेलिगेसनको लिगमा १३ औं स्थानमा रहेकाले मछिन्द्रको एक अंक घटाइएको थियो  । त्यसपछि कोरोना महामारीका कारण एक वर्ष लिग भएन । 

२०७८ मा मछिन्द्रले थप केही नाम चलेका खेलाडी भित्र्याएर टोली बलियो बनायो । प्रशिक्षकमा प्रवेशले नै निरन्तरता पाए । उनको दोस्रो कार्यकालमा क्लबले अपराजित रहँदै लिग उपाधि रक्षा गर्न सफल भयो । अपराजित रहँदै लिग जित्ने मछिन्द्र पाँचौँ क्लब हो ।

यसअघि न्यूरोड टिम (एनआरटी),थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले यस्तै उपलब्धि हात पारेका थिए । प्रवेशले घरेलु प्रतियोगितामा त आफूलाई अब्बल प्रशिक्षकका रुपमा स्थापित गराइसकेका छन् तर राष्ट्रिय टोलीमा उनको प्रशिक्षण कस्तो हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १२:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया