आगामी प्रधानमन्त्री को बन्ने भन्नेमा गठबन्धनमा विवाद, कांग्रेस र माओवादीको आ-आफ्नै दाबी

निर्वाचनपछि सत्तागठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेमा विवाद देखिएको छ । नेकपा माओवादीले घोषणापत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी प्रधानमन्त्रीक रुपमा अघि सारेपछि सत्तारुढ प्रमुख घटक कांग्रेसले पनि सो पार्टीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानममन्त्री बन्ने बताएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देउवा नै प्रधानममन्त्री बन्ने कांग्रेसको बटमलाइन नै रहेको बताएका छन् । यसअघि उनले गठबन्धनलाई बहुमतको चिन्ता रहेको, तर प्रधानमन्त्री को बन्ने भन्नेमा विवाद नरहेको बताउँदै आएका थिए । 

प्रवक्ता महतले बुधबार बुटवलमा आयोजित कार्यक्रममा निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्रको रुपमा अगाडि सार्ने बताए। १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले कांग्रेसकै धेरै सिट आउने र ठूलो पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने दाबी गरे।

यता नेकपा माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष प्रचण्ड नै अबको प्रधानमन्त्री हुने दाबी गर्दै आएको छ । यसको संकेत गोरखामा चुनावी अभियानका क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए । 

प्रचण्डका लागि मत माग्ने क्रममा उनले आगामी आगामी प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई देख्न सकिने मात्र बताएनन्, गण्डकी प्रदेशको मुख्यमन्त्री पनि गोरखाबाटै निर्वाचन जितेर कांग्रेसका सुरेन्द्र पाण्डे बन्ने बताए । पाण्डेले गोरखा २ मा संघीय निर्वाचनको उम्मेदवारको आकांक्षा राखेका थिए । सो क्षेत्रमा प्रचण्ड उम्मेदवार बन्ने भएपछि पाण्डे प्रदेश सांसदको उम्मेदवार बनेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले पनि डा. भट्टराईको भनाइलाई समर्थन गर्दै  गोरखाबाट चुनाव जितेर गएपछि तालमेल मिलेको खण्डमा देशको नेतृत्व आफूले गर्न पाउने अवस्था रहेको बताएका थिए । 



सो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना छ, त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो ।’



  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १५:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया