सेनाको हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा धनगढी पुगे


प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धनगढी पुगेका भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुगेका हुन् ।

देउवा सवार हेलिकोप्टर धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको हो । आज उनी धनगढीमै बस्नेछन् । उनी राष्ट्र बैंकको आवासमा बस्नेछन् । 

बिहीबारदेखि चार दिन उनी आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा जाने कार्यक्रम छ । उनले श्रीमती आरजु राणा देउवामार्फत निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए । 

देउवाले भोलि डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डडेल्धुरा कांग्रेसका अनुसार १८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदका उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ । 

०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको साथ पाएका छन् । अहिले देउवाको प्रचारमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का नेता पनि संलग्न छन् ।



देउवाविरुद्ध नेपाली कांग्रेस (बिपी)का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत आठजना चुनावी मैदानमा छन् । मल्लले लामो समय देउवाकै स्वकीय सचिव रहेर काम गरेका थिए ।



  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १७:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया