नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताए । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्यौँ । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरू तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे,’ उनले भने, ‘कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ ।’
अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको भन्दै जनताका आकंक्षाहरु दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गरे । अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे ।
उनले भने, ‘६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन । जनताका आकंक्षा धेरै अघि गइसके, त्यसैले यसको रक्षा गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्यूनतम आधार तयार नभएसम्म माओवादीहरु मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताए ।
‘मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिन्छ । अग्रगामी शक्तिलाई स्थापित गर्छ । त्यसअर्थमा हाम्रो सहकार्य हो । अहिलेसम्म यसको जरो त राम्रोसँग गडेकै रहेनछ,’ भट्टराईले भने, ‘जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्यूनतम आधार तयार हुँदैन त्यति बेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।