नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । शुक्रबार दार्चुला सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इन्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन् ।
‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहन्छु ।’
किर्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन् । भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शीघ्र एक्सन नलिएको उनको तर्क छ ।
विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गरेका ओलीले एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको दाबी गरे । दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गरेका ओलीले बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्य तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।