ओलीले भने - चितवनमा टिक्न नसक्ने भएपछि प्रचण्ड गोरखा लागे
फाइल फाेटाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्क समेत गरे ।

 प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले दाहालले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख समेत गरे । सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्ना परिवार र आफन्तको हितमा मात्रै दाहाल लागि परेको ओलीको आरोप थियो । 

‘देशमा १७ हजार मानिस मारिए । बिधुवा छन् कति ? एकल छन् कति ? टुहुरा टुहुरी छन् कति ? बेसहारा बुबा, आमाहरू कति छन् कति ? सरिरमा गोली लिएर, अङ्गभङ्ग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठन सक्ने अवस्था छैन । उनीहरूले आवधिक रूपमा उपचार गराई रहनु परेको छ । अनेक पिटाइका कारणले, यातनाका कारणले अरू विभिन्न देशका इफेक्ट । तर, सञ्चालन गर्ने नेता, तिनका परिवार, तिनका आफन्त मैले भनिरहन परेन,’ कार्यक्रममा ओलीले भने, ‘त्यस्ताका पछाडि नेपाल भित्र मात्रै होइन, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ । अव विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के ? त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि । विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ । यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले ? त्यसबाट उन्मुक्ति दिने कसले ? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी समेत दोहोर्‍याए । उनले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट सुरु हुने र देश कंगाल बन्ने जिकिर समेत गरे। अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको समेत बताए ।  





  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १५:१०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया