फरकधार समाचार प्रभाव : साडी बाँडेका महासेठलाई कारबाहीका लागि प्रदेश निर्वाचन कार्यालयले प्रक्रिया अगाडि बढायो

गत कात्तिक १५ गते ‘साडी बाँड्दै महासेठ, जुलीको घरदैलोमा बालबालिका !’ भन्ने शीर्षकमा फरकधारले प्रकाशित गरेको समाचारप्रति मधेस प्रदेशको प्रदेश निर्वाचन कार्यालयले चासो देखाउँदै उम्मेदवारलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
 
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को तर्फबाट नेकपा एमालेका सचिव रघुवीर महासेठले आचारसंहिताविपरीत मतदातालाई साडी वितरण गरेको समाचार सार्वजनिक भएपश्चात् उजुरी परेपछि जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकबाट कारवाही प्रक्रिया अघि बढाइएको हो । 

निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यको एमालेका उम्मेदवार महासेठ, प्रदेशसभा सदस्य ४ (क) का एमालेका उम्मेदवार सन्तोष यादव तथा क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव उपस्थित भई छठ पर्वको उपलक्ष्यमा निर्वाचन आचारसंहिताविपरीत महिलाहरुलाई साडी बाँडेको सम्बन्धमा प्रकाशित भएका समाचार तथा सोको तस्बिरसमेत प्राप्त भएकोले आवश्यक कारबाहीका लागि निर्वाचन आयोगमा पत्र पठाइएको जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

महासेठले गत कात्तिक १५ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ जमुनियामा मतदातालाई साडी वितरण गरेबापत नेकपा एमाले र आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

साडी बाँड्दै महासेठ, जुलीको घरदैलोमा बालबालिका !

महासेठसँगै धनुषा क्षेत्र नम्बर–४ (क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष यादव पनि सो कार्यक्रममा उपस्थित थिए । महासेठले पार्टी प्रवेशको नाममा २० जनालाई एमाले भित्रयाउँदा केही महिलाहरुलाई भने साडी बाँडेका थिए ।

प्रदेश निर्वाचन कार्यालयले धनुषाको मिथिला नगरपालिका वडा नम्बर–३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार बिहान महेन्द्र उच्च मावि ढल्केबरमा नर्ग लागेको साधारणसभा सम्बन्धमा आचारसंहिता उल्लंघन हुने भनी उजुरी प्राप्त भएपछि निर्वाचनपश्चात मात्र उक्त कार्यक्रम गर्ने गरी तत्काललाई स्थगन गर्न मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत दिएको छ । 



जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचन प्रचारप्रसारको महत्वपूर्ण अवधिमा जिल्लाभित्र रहेका विभिन्न सहकारी, गैर सरकारी संस्थालगायत अन्य संघसंस्थाहरुको साधारणसभा भइरहेको र सो सभाका नाममा आचारसंहिताविपरीतका विभिन्न गतिविधिहरु हुनसक्ने सम्भावना रहेको र सो कारणले निर्वाचनको सुरक्षासमेतमा  असर पर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई मंसिर ४ गतेसम्म त्यस्ता कार्यक्रमहरु स्थगन गर्न लगाउन सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।

 




 

  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १५:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया