धादिङ १ मा दुई पुराना मित्रको चुनावी भिडन्त, कसको पल्लाभारी ?

देशभर मंसिर ४ मा हुने प्रदेश तथा संघीय निर्वाचनको सरगर्मी बढेको छ । मतदाताहरु कम उत्साहित देखिए पनि उम्मेदवारहरु माहोल तताउनतर्फ केन्द्रित छन् । बागमती प्रदेशको धादिङमा पनि आगामी प्रतिनिधि सभा निर्वाचनमा रोमाञ्चक भीडन्त हुने भएको छ । 

प्रतिनिधिसभा क्षेत्र २ वटा र प्रदेशसभा क्षेत्र ४ वटा रहेको धादिङमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सदस्यमा १७ जनाले उम्मेदवारी दिएका छन् । संघीय क्षेत्र दुईवटा रहेको धादिङको क्षेत्र नम्बर १ को चुनावी माहोल रोमाञ्चक हुने देखिएको छ । 

नेकपा एकीकृत समाजवादी (एस)का केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद पाण्डेको चुनावी क्षेत्र रहेको धादिङ– १ मा उनलाई चुनौती दिँदै उनकै पुराना सहयात्री प्रतिस्पर्धामा उत्रिएका छन् । चुनावी माहोल बनाउँदै आफ्नो पक्षमा जनमत जमाउन मुख्यमन्त्री पाण्डे जनताको घरदैलोमा धाइरहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा संघीय संसदका उम्मेदवार बनेका पाण्डेलाई अघिल्ला निर्वाचनमा आफ्नै सहयात्री बनेका हितैषी भूमि त्रिपाठको चुनौती खेप्नुपर्ने भएको छ । 

०७४ सालको निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए । दुवै नेता वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र दुवै विजयी पनि बने ।
तीन दशकभन्दा लामो समय एउटै पार्टी अर्था्त नेकपा एमालेमा रहेका त्रिपाठी र पाण्डेको साथ संसद विघटनले छुटाइदियो । पाण्डेले संसद विघटनपछि एमाले टुक्रिएर बनेको एकीकृत समाजवादी रोजे भने त्रिपाठी नेकपा एमालेमै बसिरहे । पार्टी परिवर्तनसँगै आसन्न निर्वाचनमा एउटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डे र त्रिपाठीको चुनावी भीडन्त रोचक हुने आकलन छ । 

अघिल्लो निर्वाचनमा सूर्य चिह्नबाट निर्वाचन लडेका पाण्डेलाई कलम चिह्न चिनाउनको लागि चुनौती छ भने त्रिपाठीलाई एमाले विभाजनले चुनौती थपिने त्रास पनि उत्तिकै छ । यद्यपि दुवै उम्मेदवार गठबन्धनबाट चुनावी मैदानमा छन् । पाण्डे पाँचदलीय गठबन्धका उम्मेदवार हुन् भने त्रिपाठी एमाले–राप्रपाका साझा उम्मेदवार हुन् । अन्य उम्मेदवारमध्येका हेभीवेट मानिएका दुईबीचको चुनावी भीडन्तमा कसको पल्लाभारी होला त्यो हेर्न भने बाँकी नै छ । तर, अघिल्ला निर्वाचनका इतिहास हेर्ने हो भने दुवैलाई एकअर्काका लाग चुनौती बन्ने निश्चित छ । 

भारी मतान्तरले विजयी भएका थिए त्रिपाठी



तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले गत निर्वाचनमा नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित भएका थिए । तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरे ।

धादिङको मलेखुका उनी गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा रहँदा ०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका त्रिपाठीलाई योपटक गठबन्धनबाट उम्मेदवारी दिएका अघिल्लो निर्वाचनमा सँगै भोट माग्न हात जोड्दै हिँडेका पाण्डेलाई हराएर आफ्नो जितको विरासत कायम राख्न चुनौती देखिन्छ । 



सधैँका विजयी पाण्डे

मुख्यमन्त्री पाण्डे ०४३ सालदेखि धादिङको संसदीय राजनीतिमा छन् । पाण्डेले एमालेबाट उम्मेदवार भई ०४८, ०५१, ०५६, ०७० र ०७४ सालमा चुनावी नतिजा आफ्नो पोल्टामा पारेका थिए । उनी ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । ०७४ को निर्वाचनमा पाण्डे प्रदेश सभा (क)बाट २७ हजार ३ सय ३२ मत ल्याई विजयी भएका थिए । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । पाण्डेको राजनीतिक यात्राको नतिजालाई हेर्ने हो भने उनी सधैँ विजयी भइरहने नेताका रुपमा पनि लिन सकिन्छ । ठूलो दल नेकपा एमाले, त्यसमा पनि तत्कालीन वाम गठबन्धनको बलमा विजयी भएका उनलाई आगामी निर्वाचनमा पार्टी परिवर्तनको असर नपर्ला भन्न सकिन्न । 

 स्थानीय चुनावको अंकगणित

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको मतभार हेर्दा धादिङको प्रतिनिधिसभा क्षेत्र नं. १ मा सत्तागठबन्धन बलियो देखिन्छ । उक्त क्षेत्रमा पालिका प्रमुखको मत हेर्ने हो भने एमालेले ३९ हजार पाँच सय ५०, राप्रपाले १ हजार ४ सय ४४ र गठबन्धनतर्फ ४८ हजार ९ सय ५४ मत प्राप्त गरेका थिए । 

अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । यी दुई दलको मत ४० हजार नौ सय ९४ हुन आउँछ भने गठबन्धनतर्फ ४८ हजार नौ सय ५४ मत रहेको छ । सोही मतलाई हेर्ने हो भने सत्तारूढ गठबन्धन ७ हजार नौ सय ६० मतले अघि देखिन्छ ।
 

  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १७:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया