नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजसंस्था पुनःस्थापना गर्ने विषय दिवास्वप्न मात्र भएको बताएका छन्। शनिबार झापाको कचनकवल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले केही दलले भ्रम छर्नका लागि राजतन्त्र ल्याउने कुरा गरेको आरोप लगाए ।
राप्रपाले राजतन्त्र फर्काउने भ्रामक कुरा जनतामाझ फैलाएको उनको आरोप छ । नेता सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी प्रतिस्पर्धामा छन् । जलाएर खरानी भइसकेको राजतन्त्र नफर्कने उल्लेख गर्दै उनले भने, ‘त्यो त अब केवल भूतप्रेतको कल्पना गरे मात्र हो। जनतालाई छल्ने कुरा मात्र हो।’
सुविधा गणतन्त्रबाट लिने अनि विचार राजतन्त्रतर्फ राख्ने भन्दै उनले यस्तो विक्षिप्त विचारबाट संविधान र जनताको विकास नहुने बताए । उनले भने, ‘त्यसबारे परिकल्पना नगर्नुस् त्यो सम्भव नै छैन। त्यस्तो विक्षिप्त मनसायलाई जनताले बुझ्न आवश्यक छ।’
जनताको हक अधिकार सुनिश्चित गर्न मधेसी, दलित, महिला, मुस्लिम, थारु, आदिवासी आयोग बनाइएको स्मरण गराउँदै सिटौलाले भने, ‘तर, यहाँ राप्रपाले राजतन्त्र ब्युँत्याउने भ्रामक कुरा राख्दै जनतालाई अन्योलमा राखिरहेको छ।’
सिटौला यसअघि ०७४को निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । अहिले पनि उनीहरुबीच नै प्रतिस्पर्धा छ।
झापा क्षेत्र नम्बर ३ मा करिब १ लाख ३१ हजार मतदाता छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।