कालगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक
फाइल तस्बिर

पाल्पाको रानी महल क्षेत्रस्थित काली गण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । साहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतीक रानी महल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । 

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानी महल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन् । उनीहरूले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरू पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए । 

शर्माले रानी महल मात्रे भनेर घुम्न गए पनि र्‍याफ्टिङ रहेको थाहा पाएपछि र्याफ्टिङ चढेको बताए । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो ।

रानी महलको बायाँबाट बग्ने पवित्र काल गण्डकीमा दैनिक सयौँको सङ्ख्यामा स्थानीयदेखि बाह्य पर्यटक र्‍याफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानी महलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् । 

गण्डकी प्रदेशको स्याङ्जास्थित काली गण्डकी गाउँपालिका, पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिब २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको बताइन् । उनले जिल्लाको समग्र पर्यटन विकासको लागि जल पर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताइन् ।

जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरू विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै सुरु भएको र्‍याफ्टिङप्रति बाह्य पर्यटकको आकर्षण बढाउन सकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।  





  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार ११:४०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया