नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा उनले उम्मेदवार बन्न मात्र नभइ काम गर्ने दृढ संकल्प बोकेर आएको बताए ।
‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो,’ नेता पौडेलले भने ।
उनले आफूहरू जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे । ‘हामी रेल र पानीजहाजका कुरा गर्दैनाैँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौँ, जे कुरा गर्छौँ त्यो पूरा गर्छौं,’ पौडेलले भने ।
उनले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । ‘बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ,’ पौडेलले भने ।
गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै उनले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे । देशलाई प्रतिगमनमा लैजाने षडयन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।