स्वास्थ्य मन्त्रालयको आग्रह : निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।  

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए ।

उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । प्रवक्ता अधिकारीले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताए । उनले कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।

‘ठूलो मात्रामा मानिसहरू एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरू मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रूपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसाबले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरूलाई जनस्वास्थ्यको हिसाबले निकै ठूलो चासोको रूपमा लिइन्छ र निगरानी गरिन्छ,’ डा. अधिकारीले भने, ‘अझ कोभिड–१९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरूमा नयाँ भेरियन्टहरू देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरूलाई हामीले एकदमै सावधानीका साथ अगाडि लिएर जानुपर्छ ।’ 

उनले विश्वव्यापीरूपमा कोभिड–१९ को संक्रमण घटेको पनि बताए । नेपालमा पनि विगतभन्दा सहज अवस्था रहेको अधिकारीको भनाइ छ । तर, पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उनले स्पष्ट पारे । 

डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड–१९ का संक्रमितहरू रहेको बताए । ‘कोभिड–१९ संक्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रूपमा केही देशहरूमा संक्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त संक्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर, नयाँ भेरियन्टहरूको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरू देखिन्छ,’ उनले भने । 



डा. अधिकारीले अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए ।

उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । प्रवक्ता अधिकारीले कोभिड–१९ विरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । सर्वसाधारणलाई नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई सम्पर्कगरी कोभिड–१९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।  



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १२:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया