म्याग्दीखोला जलविद्युत् आयोजना : पाँच बैंकबीच ८ अर्ब रुपैयाँ लगानी सम्झौता

५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणका लागि पाँच बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रालिले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।  

आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । 

नवीकरणीय ऊर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले आयोजनाको निर्माण निर्धारित समयभित्र नै सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

त्यस्तै, ऊर्जा डेभलपर्स प्रालिका अध्यक्ष विजयबहादुर राजभण्डारीले ऊर्जा क्षेत्रको विकास गर्ने रणनीति एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए । देश विकासमा हाइड्रो पावरको भूमिका भएकाले आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको उनले बताए । 



सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत् आयोजना निर्माणको समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए । विगत केही समयदेखि विश्वव्यापी रुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको उनको भनाइ छ ।
 
बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै उनले अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने बताए । बैंकहरुमा तरलता संकट नभएर लगानीयोग्य रकमको अभाव भएको उनले बताए । 

अहिलेको अवस्था हेर्दा कम्पनीको लागत ४ रुपैयाँसम्म बढेको भन्दै उनले आर्थिक मन्दीका बाबजुद आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुसी व्यक्त गरे । 



त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए । देशको आर्थिक समृृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत् क्षेत्रमा म्याग्दी खोला जलविद्युत् आयोजनासँग आबद्ध हुन पाउँदा गर्व महसुस भएको बताए । 

म्याग्दीखोला जलविद्युत् आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । 

आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । 

आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । 

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १७:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया