वरिष्ठ पत्रकारहरुको एउटै स्वर : निर्वाचन आयोगले प्रेस काउन्सिललाई आफ्नो अंगको रुपमा प्रयोग गर्न खोज्यो

सरोकारवालाहरुले प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा प्रेस काउन्सिलले आयोजना गरेको निर्वाचनसम्बन्धी मिडिया अनुगमनको छलफलमा बोल्दै वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहितका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् । 

उनीहरुले पत्रकारिता क्षेत्रमा लामो समय काम गरी नाम कमाएका पत्रकारहरुको सहयोग लिएर काउन्सिल र महासंघले पत्रकारिताको स्वतन्त्रताको आवाजलाई बलियो बनाउन आवश्यक रहेको बताए । पत्रकारिता क्षेत्रबाट नाम कमाएका पत्रकारहरुको अनुभवलाई सम्पत्तिको रुपमा जोगाउँदै आगामी दिनमा सम्बन्धित पक्षहरुले पत्रकारिताको स्वतन्त्रतामाथि भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्ने उनीहरुको भनाइ छ । 

प्रेस काउन्सिल नेपाल विशुद्ध व्यावसायिक संस्था हुनुपर्ने र पत्रकारितालाई कुनै पनि किसिमको अवाञ्छित हस्तक्षेपबाट जोगाउने कुरामा बलियो बन्नुपर्ने धारणा राख्दै उनीहरुले निर्वाचन आयोगले प्रेस काउन्सिलमाथि अराजकता देखाएको आरोप लगाए । 

पत्रकारहरुले निर्वाचन आयोगले आफ्नो अंगको रुपमा प्रेस काउन्सिललाई प्रयोग गर्न खोजेको पनि बताए । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिताको नाममा राजनीति गर्ने खेल बन्द गर्नुपर्ने बताए । निर्वाचन आयोगको अधिनमा पत्रकार नबस्ने भएकाले अन्तरक्रिया निर्वाचन आयोगको आचारसंहितामा के गर्ने भनेर राख्नु नै गलत भएको नेपालले बताए ।

प्रेस काउन्सिलजस्तो न्यायिक अंगलाई प्रशासनिक अंग बनाउन नहुने बताउँदै उनले पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीलाई पनि नीति, नियम र आचारमा बस्न सुझाब दिए । 

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले काउन्सिलको निर्वाचन आयोगमाथिको हस्तक्षेप कम भएको अनुभूति गरेको बताए । प्रेस काउन्सिलले हतारमा विनागृहकार्य काट्ने काम बन्द गर्न सुझाब दिए । 



वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले कन्टेन्टलाई हेरेर प्रेस काउन्सिल निर्मम बन्नुपर्ने बताए । पत्रकार आचारसंहिताअनुसार काम गर्न नसके प्रेस काउन्सिल कमजोर बन्ने भन्दै उनले प्रेस काउन्सिलले सञ्चारकर्मीको संरक्षित बन्ने नभई आचारसंहिताले व्यवस्था गरेअनुसार अघि बढ्नुपर्ने बताए । 

वरिष्ठ पत्रकार तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलको आचारसंहिता सिद्धान्तभन्दा बाहिर गइसकेको आरोप लगाए । संसारको प्रजातान्त्रिक देशहरुमा निर्वाचनका बेला प्रेसलाई कसैको पक्ष, विपक्षमा वकालत गर्न दिने गरेको तर नेपालमा भने निर्वाचनको मुखमा कसैलाई केही नभन्नू भन्ने कुराबाट नागरिक सचेत र सतर्क हुन नसक्ने उनले बताए । सञ्चारमाध्यमलाई रोकेर लोकतन्त्रको सुदृढीकरण हुन नसक्ने उनले जिकिर गरे ।



वरिष्ठ पत्रकार महेन्द्र विष्टले अहिलेको काउन्सिललाई संस्थागत हिसाबमा र कानुनी हिसाबमा सिद्धान्तमा पुनः संरचना गर्नुपर्ने धारणा राखे । निर्वाचन आयोग प्रेसप्रति अनुदार ढंगले प्रस्तुत भइरहेको भन्दै उनले निर्वाचन आयोगमाथि प्रश्न गर्न नपाउने निकाय प्रेस हुन नसक्ने दाबी गरे । 

वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले सबै संस्थाहरुप्रति उदासिनता हुने क्रम बढिरहेको भन्दै प्रेस काउन्सिल जागरुक हुन जरुरी रहेको बताए । काउन्सिलले कसैको पक्ष, विपक्षमा लागेर काम गर्न नहुने भन्दै उनले निर्वाचन आयोगले यस पटकको निर्वाचनमा आफ्नो सीमारेखा र कार्यक्षेत्र बिर्सिएको बताए । 

पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस काउन्सिल र महासंघले निर्वाचन आचारसंहितामा निर्वाचनका बेलामा थप बुँदाहरु समेटेर आफ्नै अंगका रुपमा बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय निर्वाचन आयोगले प्रेसप्रतिको अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित बनाएको उनले बताए । अध्यक्ष पोखरेलले गत ५ वर्षमा सांसदहरु प्रेस स्वतन्त्रतामैत्री कानुन निर्माणमा सहयोग नगरेको गुनासो गरे । 

  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २३:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया